धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कैलालीको जानकी गाउँपालिकामा निर्माण भएको राजीजमरा कुलरिया सिंचाइ आयोजनाको जलविद्युत उद्घाटन गर्ने भएका छन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अनुसार साउन १३ गते प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका- ९ मा निर्माण गरिएको सिंचाइ आयोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश कमिटी सचिव रणबहादुर चन्दले प्रधानमन्त्री ओलीले उद्घाटनअघि लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीस्थित कर्णाली नदीमा बनेको रानीजमरा सिंचाइ आयोजनाको मुहान अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले जलविद्युत उद्घाटन गर्ने छन् ।
यसबाहेक अरु कार्यक्रमको जानकारी नआएको चन्दले बताए ।
तर, राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिंचाइ आयोजनाको सो जलविद्युत आयोजनाले १८ महिना पहिलेदेखि व्यवसायिक उत्पान सुरु गरी राष्ट्रिय प्रशारण लाइनमा जडान भइसकेको छ ।
सिंचाइ विभागले सो जलविद्युत बिक्रीको मोडालिटी बनाउन नसकेको हुँदा आयोजनाले उधारोमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत दिइरहेको छ ।
आयोजनाका सूचना अधिकारी नविन पौडेलले २०८० माघ १६ गते परीक्षण उत्पादन सुरु गरेसँगै राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोडिएको बताए । आयोजनाले उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान भए पनि त्यसबापतको रकम लेनदेनको बारेमा अझै टुंगो लागेको छैन ।
यद्दपि, नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट भाषण मार्फत् रानी जमरा सिंचाईबाट उत्पादन भएको जलविद्युतको आय संघीय सञ्चित कोषमा जम्मा हुने व्यवस्था मिलाउने घोषणा गरेको छ ।
आयोजनाले एक अर्ब रुपैयाँ खर्च गरेर जलविद्युत गृह निर्माण गरी ४.७१ मेघावाट विद्युत उत्पादन गरेको छ । उत्पादित विद्युत बिक्री गरी २५ वर्षमा सिंचाइ आयोजनाको सम्पूर्ण लगानी उठ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया