धनगढी । जिल्ला प्रहरीमा कयौं एसपी फेरिए, नेपाल प्रहरीले छ आइजी पाइसक्यो । अनि पाँच जना त गृहमन्त्री नै बनिसके । तर, ०७५ साउन १० मा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त घटनाको रहस्य भने गर्भमै छ ।
घटनाको अनुसन्धानका क्रममा एक सय २४ जनाको डीएनए परीक्षण अनि छ सय ५५ जनासंग विस्तृत सोधपुध भएको छ । तर, सात वर्षसम्म पनि घटनाम संलग्न अभियुक्त खोज्न प्रहरी असफल भएको छ ।
तत्कालीन गृहमन्त्रीको त्यो हलुका टिप्पणी
निर्मला पन्त बलात्कार र हत्या घटना हुँदा गृहमन्त्री थिए, रामबहादुर थापा । उक्त समयमा थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीति भएको बताएका थिए । ‘गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको छ,’ उनले भनेका थिए ।
पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली पठाइएको भन्दै थापाले अपराधीलाई कानुनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको बताएका थिए । यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताएका थिए ।
सत्तामा पुगेपछि बिर्सन्छन् त्यो वीभत्स घटना
सञ्चारकर्मी हुँदा निर्मला पन्त घटनालाई जोडतोडका साथ मिडियामार्फत उठान गर्थे रवि लामिछाने । ११ पुस ०७९ मा तिनै लामिछानेले देशको गृहमन्त्री भए । सपथ ग्रहणपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरे । ७२ घण्टामै दोषी पत्ता लगाउने दाबी पनि गरे ।
तर, लामिछानेको बोली झुठ सावित भयो । गृहमन्त्री भएको चार दिनपछि ०७९ पुस १५ मा तत्कालीन डीआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । ‘उक्त टोलीले अनुसन्धानपछि शंकास्पद भन्दै पाँच जनाको डीएनए परीक्षण गरिएको थियो,’ एक प्रहरी अधिकारीले भने, ‘संकलित नमुनाको रिपोर्ट मेल खाएन । घटनाको अनुसन्धान फेरि शून्यमै झरेको थियो ।’
पहिलो कार्यकालमा निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानमा फेल भएका लामिछानेले दोस्रोपटक पनि गृहमन्त्री बन्ने अवसर पाए । ३० असार ०८१ मा त तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाए । ‘मैले नभनौं भनेको तर भन्नैपर्ने भयो, निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं,’ मन्त्रालयमा आयोजित कार्यक्रममा लामिछानेले भनेका थिए, ‘नतिजा आओस् अनि भनौला भनेर पर्खेको थिए । हामी कति नजिक पुगेका छौं, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन ।’ लामिछानेको गृहमन्त्री पद स्थायी थिएन । गृहमन्त्रीबाट बिदा भएका उनी अहिले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन् ।
०००
पन्तको बलात्कार गरी हत्या भएपछि संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दवाव दिनेमध्ये अग्र मोर्चामा थिए काँग्रेसका नेता रमेश लेखक । घटनाको अनुसन्धानमा सरकार असफल भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि माग गर्थे लेखक । ‘निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असफलता हो,’ लेखक त्यो बेला भन्थे, ‘यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।’
०७५ भदौमा त लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने बताएका थिए । ‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसङ्गमा झुठो बोल्ने सम्माननीय प्रधानमन्त्री केपी ओली तथा महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्वप्रधानमन्त्री माननीय प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नु पर्छ,’ लेखकले भनेका थिए, ‘निर्मलाको बलात्कार र हत्याको अपराधी खोज्न असफल सरकारका नायक प्रचण्डका सार्वजनिक रूपले महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने नियोजित कार्य वा षड्यन्त्र हुन् कि भन्ने जस्ता अभिव्यक्ति सुन्दा उहाँको मानसिक दरिद्रताप्रति दया जाग्यो ।’ ओलीले निर्मला हत्याकाण्डमा राजनीति भएको भनेका थिए भने प्रचण्डले पार्टी र सरकारलाई झुकाउन यस्ता खाले घटना नियोजित रुपमा गराइएको बताएका थिए ।
निर्मलाको न्यायका लागि आन्दोलनमा समेत सहभागी भएका लेखक अहिले गृहमन्त्री छन् । आफ्नै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि राज्य सत्ताको नेतृत्वमा पुगेपछि पीडित परिवार न्याय पाउने आशमा थिए । तर, लेखक गृहमन्त्री बनेको १४ महिना कटेको छ । न दोषी पत्ता लागे, न नयाँ शिराबाट घटनाको अनुसन्धान थालिएको छ ।
बरु गृहमन्त्री लेखक अहिले निर्मला प्रकरणबारे खुलेर बोल्न चाँहदैनन् । सुदूरपश्चिम आउँदा निर्मला घटनाबारे गृहमन्त्री लेखकलाई प्रश्न सोधिन्छ । तर, उनले सधैँका लागि रेडिमेट जवाफ फर्काउने गरेका छन् । ‘निर्मला बहिनीको बलात्कारपछि हत्या भएको लामो समय भइसकेको छ,’ लेखकले भन्ने गरेका छन्, ‘तथापि अनुसन्धानलाई जारी राख्नुपर्छ । सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ निर्मला पनि लेखकको निर्वाचन क्षेत्रकै बासिन्दा थिइन् ।
प्रतिक्रिया