धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गुर्गी सिँचाइ आयोजनालाई बहुवर्षीय ठेक्काको माध्यमबाट पुनर्निर्माण गर्ने भएपछि कैलारी गाउँपालिकाका किसान खुसी थिए । तर, उनीहरुको यो खुसी चार महिना पनि टिकेन ।
आर्थिक वर्ष २०८१/८२ भित्रै आयोजना कार्यान्वयन सुरु गर्ने गरी आर्थिक मामिला मन्त्रालयले सो आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान स्रोत सहमति दिएको थियो । तर, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीले आर्थिक वर्ष सकिदा समेत ठेक्का आह्वान गर्न नसक्दा बहुवर्षीय ठेक्का स्रोत सहमति स्वतः अन्त्य भएको छ ।
योसंगै गतआर्थिक वर्ष २०८१/८२ मा गुर्गी सिँचाइ आयोजनाका लागि विनियोजन गरिएको पाँच करोड रुपैयाँ पनि फ्रिज भएको छ । तीन वर्षमा सम्पन्न हुने गरी २० करोड रुपैयाँको बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति दिएको थियो ।
०८१ फागुन २९ गते आर्थिक मामिला मन्त्रालयले स्रोत सहमति दिएका ८५ वटा योजनामध्ये नागरिकले आन्दोलन समेत गरेर माग गरेको गुर्गी सिँचाइ आयोजना थियो । पटकपटक आन्दोलन गरेर माग गरिएको योजना कार्यान्वयन नै हुन नसकेपछि निराशा बढेको गुर्गी बाँध सिँचाइ तथा जल उपभोक्ता समिति अध्यक्ष भिष्म चौधरीले बताए ।
उनले आफूहरुले ठेक्का आह्वान गर्नका लागि कार्यालय र मन्त्रालय धाउँदाधाउँदै सिँचाइ कार्यालयले ठेक्का आह्वान नगरेको बताए । उनले चालुआर्थिक वर्षको पहिलो महिनाबाटै पुनः बहुवर्षीय ठेक्कामा लग्ने प्रक्रिया सुरु नगरे किसानले धनगढी आएर आन्दोलन गर्ने बताए । जल उपभोक्ता महासंघमा समेत सो विषयमा कुरा उठेको बताउँदै अध्यक्ष चौधरीले सबै सिँचाइ आयोजना पीडित किसान मिलेर कडा आन्लोलन गर्ने तयारी भइरहेको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले गुर्गी सिँचाइ आयोजनाको हेडवर्कको काम रहेकोले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भएकोले नयाँ डिजाइनका लागि अध्ययन गर्दागर्दै आर्थिक वर्ष सकिएको बताए । उनले ढिलो गरी स्रोत सहमति प्राप्त भएकाले पनि आर्थिक वर्षभित्रै ठेक्का आह्वान गर्न नसकिएको र आर्थिक मामिला मन्त्रालयले दिएको स्रोत सहमति स्वतः रद्द भएको बताए । नयाँ डिजाइन लगभग तयार भइसकेको बताउँदै सचिव भट्टले चालुआर्थिक वर्षमा पुनः स्रोत सहमति लिएर बहुवर्षीय ठेक्का लगाइने बताए ।
चालु आर्थिक वर्षमा गुर्गी सिँचाइ आयोजना निर्माणका लागि आर्थिक मामिला मन्त्रालयले स्रोत सहमति दिंदा सात करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता जनाएको भए पनि तीन करोड मात्रै विनियोजन गरेको छ । कैलालीको कैलारी गाउँपालिकाका किसानको जीवनसंग गाँसिएको गुर्गी सिँचाइ आयोजना भत्किएको १८ वर्ष पुरा भएको छ ।
आयोजना पुनर्निर्माण गर्न ५० करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि पहिलो चरणमा हेडवर्क (मुहान) निर्माण गर्नका लागि योजना बनाइएको छ । तर, २०७९/८० देखि सुदूरपश्चिम प्रदेश र नेपाल सरकारले विनियोजन गरेको बजेट निरन्तर फ्रिज हुँदै आएको छ ।
गुर्गी सिँचाइसंगै खुरखुरिया सिँचाइ आयोजनाले पाएको बहुवर्षीय ठेक्का सहमति पनि स्वतः अन्त्य भएको छ । तीन वर्षमा सम्पन्न हुने गरी २६ करोड ७४ लाख रुपैयाँको बहुवर्षीय स्रोत सहमति पनि स्वतः अन्त्य भएको सचिव भट्टले बताए । बहुवर्षीय स्रोत सहमति पाएको दुबै आयोजनाको रि–डिजाइन गर्नुपर्ने भएकोले ठेक्का आह्वान गर्न नसकिएको भट्टले बताए ।
प्रतिक्रिया