ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
मर्मत गरेर पनि चलेन घुराहाको पुल

काम नसकिदै सम्पन्न भनेर पूर्वाधार कार्यालय कैलालीले दियो भुक्तानी

आइतबार २९, असार २०८२ ०८:२२

धनगढी । पूर्वाधार विकास कार्यालय कैलाली र ठेकेदार कम्पनीले पुल निर्माण र मर्मतमा लापरबाही गर्दा चार वर्षसम्म पनि घुराहा नदीको पुल चल्न सकेको छैन । ०७८ साउन २४ गते उद्घाटन गरिएको कैलालीको कैलारी गाउँपालिका- ६ स्थित सो पुल निर्माण गर्दा विङ वाल नबनाइएपछि एकतर्फको पहुँच मार्ग भत्किएको थियो । 

यसवर्ष विङ वाल बनाइए पनि पहुँच मार्गभन्दा निकै तल बनाइएकाले फिलिङ गरिएको माटो बगेको छ । विङ वालको जग खन्दा ठेकदारले गहिरो खनेकोले वाल माथिसम्म नपुग्दा बाढीले माटो बगेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुर्यप्रकाश जोशीले बताए ।

विङवाल नभएकै कारण बाढीले पहुँच मार्ग भत्काएको थियो । भत्किएको पहुँच मार्ग मर्मत नभएपछि सो सडकमा चारपांग्रे सवारी लच्न सकेको थिएन । यसवर्ष मर्मत गर्नासाथ पुनः भत्किएको छ । पूर्वाधार विकास कार्यालयबाट भुक्तानी लिए पनि मर्मत गर्ने ठेकेदारले मर्मतको काममा लगाइएका कामदारहरुलाई ज्याला दिएको छैन । 

स्थानीय भगतपुरकी सरस्वती कुमारी मल्ल सिंहले पुल मर्मतको काममा खटिएका आफ्ना श्रीमानसहित धेरैले ज्यालासमेत नपाएको बताइन् । ‘एक त पुलै अधुरो रह्यो,’ उनले भनिन्, ‘त्यसमाथि भुक्तानी लिएर पनि कामदारलाई ज्याला दिएको छैन ।’ 

स्थानीयले मर्मतको काम सम्पन्न नभएको जनाए पनि पूर्वाधार विकास कार्यालयले बजेट र इस्टिमेट अनुसारको काम सम्पन्न भएको दावी गरेको छ । इञ्जिनियर जोशीले ठेक्का सम्पन्न भइ ठेकदारलाई भुक्तानी दिइएको बताए । यद्दपि पुर्वाधार विकास कार्यालयकै एक कर्मचारीले ठेक्कामा माटो माथि ग्राभेल हाल्नेलगायतको काम बाँकी रहेको बताए ।

ग्याविन हाल्ने काम पुरा नगरे पनि ठेक्का सम्पन्न गरेर उदयदेव निर्माण सेवाले ठेक्काको सबै रकम भुक्तानी लिएको छ । ४१ लाख रुपैयाँमा ठेक्का भएकोमा सबै रकम भुक्तानी भइसकेको छ । जोशीले १३ महिनाको ‘ड्यामेज लाईबलिटी पिरियड’ दिइएकोले आगामी वर्ष सोही ठेकेदारले मर्मत गर्नुपर्ने बताए । तर नपुगेको ग्याविन खर्च पुर्वाधार विकास कार्यालयले व्यहोर्नु पर्ने उनले बताए ।

विङवाल नभएकाले बनाएको एक वर्षमै भत्किएको पहुँच मार्ग मर्मत गर्न यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । मर्मतका लागि ठेक्का पाएको भूमिराज उदय देव निर्माण सेवाले समयमा विङवाल बनाएर ग्याबिनसमेत भरी माटो फिलिङ गर्नुपर्ने भए पनि विङ वालमात्रै बनाएर माटो फिलिङ गरेको थियो । ईञ्जिनियर जोशीले ग्याविन पुगेकोले फिलिङ गरेको माटो बगेको बताए । उनले समयमा काम नभएपछि वर्खा लागेको कारण ग्याविन पुरा हुन नसकेको बताए । 

भगतपुर, गदरिया र धनगढी उपमहानगरपालिकाको फुलबारीसमेत जोड्ने एक सय ८ मिटर लम्बाइ रहेको सो पुल निर्माणका लागि भौतिक पुर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा २ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का लगाए पनि १७ महिनामै रसुवा जयविष्णु जेभीले निर्माण गरेको थियो । पुल बनाउन १३ करोड ५२ लाखमा खर्च गरिएको थियो । तर पहुँच मार्ग सुरक्षाका लागि हरेक पुलमा बनाइने विङ वाल यो पुलका लागि पुर्वाधार विकास कार्यालयले डिजाइन नै गरेको थिएन ।
 

प्रतिक्रिया