ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रोजगारीकाे प्रलोभनमा मानव तस्करी, भारतमा बेचिँदैछन् नेपाली युवा

बिहिबार १२, असार २०८२ ०५:११

कञ्चनपुर । अग्रस्थानमा भारतीय सीमा सुरक्षा बलका हतियारधारी सिपाही  । उनका पछाडि लामवद्ध कलिला नेपाली युवाहरुको समूह । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा बुधबार अपरान्ह्को दृश्य कारुणिक थियो ।

गड्डाचौकीस्थित नेपाली क्षेत्रमा सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर बिक, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहित सुरक्षा निकायका प्रमुखहरु ती युवाको स्वदेश आगमनको प्रतिक्षामा थिए । 

भारतीय सुरक्षा घेरामै जब ती युवाहरुले गड्डाचौकीस्थित आफ्नो देशको माटोमा पाइला टेके, तब उनीहरु लामवद्ध भएर नारा लगाउन थाले । उनीहरुले चर्को स्वरमा भारतीय भाषामै भने, ‘हमे बेच्नेवालाको फाँसी दो, फाँसी दो । भारत में फंसे युवाओंको बचाओ, बचाओं ।’ उनीहरु भर्खर सिपाहीको तालिम पाएर पाएर आदेश पालना गरेजस्तै हाउभाउ पनि गरिरहेका थिए ।

उद्दार गरी स्वदेश ल्याइएका नेपालका विभिन्न १८ जिल्लाका ५७ जना युवाहरुलाई भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीहरुलाई हस्तान्तरण गरेको हो । आफ्नो देशको माटो टेक्न पाएको हर्षमा होला सायद, थकित शरीरमा पनि त्यसबेला ती युवाहरुको अनुहारमा भने चमक झल्किन्थ्यो ।

भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरमा महिनौदेखि अदृष्य उद्देश्यका लागि बन्धक बनाइएका नेपाली युवाहरुलाई उद्दार गरी बुधबार स्वदेश ल्याइएको हो । १५ वर्षदेखि २२ वर्ष उमेर समूहका ती युवाहरु पूर्व ताप्लेजुङदेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न जिल्लाका हुन् ।  

मानव तस्करहरुको सञ्जालले ती युवाहरुलाई प्रतिव्यक्ति २३ हजार भारतीय रुपैयाँ लिएररुद्रपुर र काँशीपुरमा पुु¥याएका थिए । त्यसरी फसाइएका युवाहरुहरुका आ–आफ्ना कथा ब्यथाहरु थिए । उनीहरुले महिनौसम्म बन्द कोठामा बस्नुु परेको थियो । राम्रो कमाई हुने जागिरको आश्वासनमा भारत पुगाइएका ती युवाहरुले उल्टै बन्धक जीवन बिताउनुु परेको थियो । तर कुन प्रयोजनका लागि उनीहरुलाई त्यसरी बन्धक बनाइएको थियो र को–को संलग्न छन् भन्ने भित्री पाटो अझै खुलेको छैन ।   

कैलालीको चुरे गाउँपालिका– १ का मानबहादुर बिकको उमेर १५ वर्ष मात्र पुुगेको छ । घरमा बृद्धावस्थाका बाआमा बिरामी छन् । कमाउने कोही छैन । गाउँकै दाईले भारतको रुद्रपुरमा राम्रो काम लगाइदिने भनेपछि मानबहादुर पनि लोभिएका थिए । घरको लालपुुर्जा धितो राखेर २३ हजार भारु जम्मा गरेर बुुझाएपछि उनी रुद्रपुर पुुगेका थिए । त्यहाँ पुुगेपछि त उनलाई सम्पर्क बिच्छेद गराएर बन्धक बनाइयो । कसैलाई सम्पर्क गर्न दिइएन, मोटिभेशनल तालिम दिन थालियो । तर, त्यो के प्रयोजनका लागि भन्ने उनीहरुले पत्तै पाउन सकेनन् ।  

कास्कीको अन्नपूर्ण गाउँपालिका– १ का विशाल बुढाथोकीको उमेर २० वर्ष पुुगेको छ । उनी पनि तस्करहरुको सञ्जालमा परेर तीन महिनाअघि रुद्रपुर पुगेका थिए । विशालका दाजु सुमन बुढाथोकी पनि त्यही जालोमा फसेर चार महिनाअघि रुद्रपुर पुगेका थिए । उनीहरुलाई एक महिना करिब रुद्रपुरमा राखेर त्यसपछि काँशीपुर पु¥याइएको थियो । काँशीपुर पु¥याएपछि भने कुटपिट गर्ने र झुण्ड्याएर यातनासमेत दिने गरेको उनले बताए ।

हालै भारतीय प्रहरीको सहयोगमा नेपालीहरुलाई बन्धक बनाएको घरमा छापा हानेर ती युवाहरुको उद्दार गरिएको थियो । केआइएन इण्डिया नामक उद्दार संस्थाले त्यस कार्यमा सहजीकरण गरेको थियो । अर्को दिन रुद्रपुरमा छापा हान्ने तयारी थियो, तर बन्धक बनाउनेहरुले ठेगाना परिवर्तन गरेर जंगलको बीचमा रहेको घरमा पु¥याएको केआइएन इण्डियाका प्रतिनिधि नविन जोशीले बताए । करिब २५–३० किलोमिटर पिछा गरेर २२ जनाको उद्धार गरिएको उनले बताए ।

यसरी खुलेको थियो रहस्य 
करिब एक महिनाअघि बन्धक बनाइएकै अवस्थामा ताप्लेजुङका २७ वर्षीय सोम लिम्बूको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी दर्ता गरिएको थियो । त्यसपछि ताप्लेजुङ प्रहरी र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा जानकारी गराए । 

उक्त जानकारी परराष्ट्र मन्त्रालय हुँदै दिल्लीस्थित नेपाली दूतावासमा पुगेको थियो । त्यसपछि रुद्रपुर र काशीपुरमा नेपालीहरु बन्धक भएको पत्ता लागेको थियो । उद्दार गरि स्वदेश ल्याइएका  युवाहरुले अझै पनि थुुप्रै युवाहरु भारतका विभिन्न ठाउँमा बन्धक बनाइएको आशंका गरेका छन् । 

प्रदेश प्रहरी प्रमुख बिक कसले, कसरी र किन यस्तो गर्यो भन्ने यकिन गर्न गहिरो अनुसन्धान आवश्यक रहेको बताए । ‘नेपाली युवाहरुलाई त्यसरी कुन प्रयोजनका लागि त्यहाँ लिएर बन्धक बनाएर तालिम दिइन लागेको थियो भन्ने हामी पनि बुुझ्दै छौ, भारतीय प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ,’ डीआइजी बिकले भने ।

बुुधबार कञ्चनपुर ल्याएका ती युवाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । उद्योग बाणिज्य संघले उपलब्ध गराएको एउटा फ्रुटी र एउटा प्याकेट चाउचाउ प्रहरीले उनीहरुलाई बाडेको थियो । साँझको खानबस्नका लागि पनि उद्योग बाणिज्य संघ कञ्चनपुरले नै प्रबन्ध गरेको थियो । प्रदेश प्रहरी प्रमुख डिआइजी बिकका अनुसार उनीहरुलाई आ–आफ्नो घरसम्म पु¥याउनका प्रहरीले काम गरिरहेको छ ।
 

प्रतिक्रिया