धनगढी । कैलाली जिल्लाका सबै १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्रै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिसक्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थाअनुसार कैलालीका सबै स्थानीय तहले पालिका सभामा बजेट पेश गरेका छन् ।
टीकापुर, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका तथा जोशीपुर र चुरे गाउँपालिकाले मंगलबार बजेट प्रस्तुत गरेका छन् । बर्दगोरिया र मोहन्याल गाउँपालिकाले सोमबार नै गाउँसभामा बजेट प्रस्तुत गरेका थिए । धनगढी उपमहानगरपालिकाले शनिबार, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाले शुक्रबार र लम्कीचुहा नगरपालिका बिहिबार नै बजेट ल्याएका थिए ।
घोडाघोडीको बजेट एक अर्बभन्दा बढी
कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि एक अर्ब एक करोड ४० लाख २२ हजारको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख गुलियाकुमारी चौधरीले मंगलबार नगर सभामा बजेट प्रस्तुत गर्दै आन्तरिक स्रोतबाट १४ करोड ८१ लाख ३२ हजार, संघीय सरकारबाट समानीकरण अनुदान १९ करोड ३ लाख, समपूरक अनुदान २ करोड २५ लाख, विशेष अनुदान २ करोड ७४ लाख, शशर्त अनुदान ३ करोड ९० लाख ३० हजार र राजस्व बाँडफाँट १ करोड ३६ लाख ६१ हजार ३८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताइन् ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान दुई करोड २५ लाख, समपूरक अनुदान ३ करोड ३७ लाख ५० हजार, विशेष अनुदान ७५ लाख, शशर्त अनुदान ६० लाख र राजस्व बाँडफाँट ५८ लाख ४३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
उनले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिइन् । चालु आर्थिक वर्ष २०८१÷८२ मा घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
गौरीगंगामा एक अर्ब एक करोड बजेट
गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । उपप्रमुख भोजबहादुर बमले संघीय सरकारबाट समानीकरण अनुदान १५ करोड ९४ लाख, सशर्त अनुदान चालुतर्फ २३ करोड ३६ लाख र पुँजीगततर्फ एक करोड ४१ लाख प्राप्त हुने अनुमान रहेको बताए ।
उनले सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा १७ करोड ८९ लाख विनियोजन गरेको बताए । प्रशासनिक खर्चतर्फ १५ करोड ७१ लाख ४० हजार, जनस्वास्थ्य प्रबद्र्धनमा एक करोड ६६ लाख र योजना तथा पूर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
जोशीपुरको बजेट पौने ८४ करोड
जोशीपुर गाउँपालिकाले आगामी वर्षका लागि ८३ करोड ८६ लाख ५९ हजार १५४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष संघीय सरकारबाट समानीकरण अनुदान ११ करोड २३ लाख, राजश्व बाँडफाँड नौं करोड २८ लाख ९७ हजार, सशर्त अनुदान चालुतर्फ १६ करोड ६६ लाख, पुँजिगततर्फ ३५ लाख ३९ हजार, विशेष अनुदान ५० लाख प्राप्त हुने बताइन् ।
टीकापुरको बजेट साढे ९३ करोड
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९३ करोड ६७ लाख ९७ हजार बजेट सार्वजनिक गरेको छ । नगर सभाका जेष्ठ सदस्य रामबहादुर नगार्जीले नगरपालिका र वडाहरुको साधारणतर्फ १८ करोड र नगरपालिकाको प्राथमिकता प्राप्त चालु तथा पूँजीगत योजनामा २९ करोड ९८ लाख ९३ हजार १२७ रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
उनले समपुरक, विशेष तथा सशर्तबाहेक नगरपालिकाको कुल पूँजीगत खर्च २५ करोड ३ लाख र चालुतर्फ ३० करोड ५० लाख हुने अनुमान प्रस्तुत गरे । पुँजीगत रकममध्ये वडाको लागि ५ करोड, समपुरकमा ३ करोड ६२ लाख, नगर गौरवका योजना कार्यान्वयनका लागि प्रत्येक वडाको लागि एउटा सडक कालोपत्रे गर्न ७ करोड २० लाख र विषयगत शाखाको लागि २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
मोहन्याल गाउँपालिकाद्वारा साढे ६१ करोडको बजेट सार्वजनिक
मोहन्याल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार बसेको गाउँसभामा उपाध्यक्ष कमलबहादुर साउँदले सो अनुमान प्रस्तुत गरेका हुन् । उनले पुर्वाधार विकासका लागि ६५ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको बताए ।
बर्दगोरियामा एक अर्ब दुई करोडको बजेट प्रस्तुत
सोमबार नै गाउँसभामा बजेट प्रस्तुत गरेको बर्दगोरिया गाउँपालिकाले आगामी वर्षका लागि एक अर्ब २ करोड ९१ लाख विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले चालु खर्च तर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरेको बताए ।
उनले आगामी वर्ष आन्तरिक आय ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ हुने बताए । राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने उनले बताए । नेपाल सरकारबाट ५२ करोड २७ लाख र प्रदेश सरकारबाट ५ करोड ७० लाख ४७ हजार वित्तीय हस्तान्तरण प्राप्त हुने बताए । उनले चालुवर्षको बजेटबाट ३ करोड ४५ लाख बचत हुने बताए ।
चुरेमा पौनो ५३ करोड बजेट
कैलाली जिल्ला आगामी आर्थिक वर्षका लागि सबै भन्दा कम रुपैयाँको बजेट ल्याउनेमा चुरे गाउँपालिका भएको छ । चुरे गाउँपालिकाले गाउँसभामा मंगलबार ५२ करोड ८७ बजेट प्रस्तुत गरेको छ ।
भजनीमा ६८ करोड ४३ लाखको बजेट प्रस्तुत
कैलाली जिल्लाका नगरपालिकाहरु मध्ये भजनी नगरपालिकाले सबैभन्दा कम रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ । नगर उपप्रमुख राजु तिरुवाले आगामी आर्थिक वर्षका ६८ करोड ४३ लाख ६५ हजार तीन सय ४१ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
चारवटा पालिकाले यसअघिनै बजेट ल्याइसकेका थिए । जानकी गाउँपालिकाले ९१ करोड ३७ लाख, गोदावरी नगरपालिकाले एक अर्ब १८ करोड ५४ लाख तथा लम्कीचुहाको नगरपालिकाले एक अर्ब २० करोड ९९ लाखको बजेट सार्वजनिक गरिसकेका छन् । त्यस्तै धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रतिक्रिया