काठमाडौं । संघीय संसदको अध्ययन तथा अवलोकन भ्रमणमा रहेको सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले काठमाडौंमा सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसंग भेट गरेको छ ।
प्रतिनिधिसभामा तीनवटा बिषयगत समितिसंग आइतबार छलफल गरेपछि सामाजिक विकास समितिले सोमबार सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष दाहालसंग भेट गरेको हो ।
सभामुख घिमिरेसंगको भेटमा संघीयता कार्यान्वयनका चुनौती र सामाजिक विकास समितिको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । राष्ट्रिय सभाका अध्यक्ष दाहालसंगको भेटमा संघीय संसदका बिषयगत समिति र प्रदेश सभाका विषयगत समितिहरुको कामकाजलाई प्रभावकारी बनाई सरकारका कामहरुमा संसदीय निगरानी बढाउने बिषयमा छलफल भएको सभापति पाठकले बताए ।
सामाजिक विकास समितिले यसअघि आइतबार प्रतिनिधिसभाका तीन वटा बिषयगत समितिहरुसंग छलफल गरेको थियो । समितिले प्रतिनिधिसभाका शिक्षा तथा स्वास्थ्य समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिसंग भेटघाट तथा छलफल गरेको थियो । सबै समितिका सभापति र सदस्यहरुसंग छलफल तथा अनुभव आदानप्रदान भएको सामाजिक विकास समितिका सचिव युवराज जैशीले जानकारी दिए ।
प्रतिक्रिया