धनगढी । कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएपछि प्रहरीले सोहीअनुसार अनुसन्धान अगाडि बढाएको छ । सोमबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीस्थित आफ्नै कोठामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ की ३० वर्षीया रेणुका चौधरी मृत फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार युवतीको घाँटी र कन्चटमा धारिलो हतियारको चोट छ । ‘घटना शंकास्पद छ,’ डीएसपी सिंहले भने, ‘घटनाको अनुसन्धानका लागि हामीले तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेका छौं ।’ शवमा गन्ध आएका कारण केही दिनअघि नै उनको हत्या भएको आशंका गरिएको छ ।
डीएसपी सिंहका अनुसार बाहिरबाट ताला लगाएको कोठामा चौधरी मृत फेला परेकी हुन् । चौधरी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगी थिइन् । कार्यालयका अनुसार चौधरीलाई बिहीबार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तर सम्बन्धी तालिममा पठाइएको थियो ।
सोही दिनदेखि उनी कार्यालयमा आएकी थिइनन् । स्थानीय बासिन्दाले चौधरीसंग एक युवक पनि उक्त कोठामा बस्दै आएको बताएका छन् । चौधरीको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया