धनगढी । कैलालीमा प्रहरीले गोली चलाएको छ । ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई जना अभियुक्त भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले बताए ।
‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा पिसाब फेर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको हो ।’
टीकापुरका टेकेन्द्रसिंह बिष्टमाथि खुकुरी प्रहार गरेकाे आरोपमा चन्द र ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।
डीएसपी सिंहका अनुसार उनीहरुलाई भजनी नगरपालिका–७ मा प्रहरीले गोली चलाएको हो । दुवैलाई तिघ्रामा गोली लागेको छ । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए ।
प्रतिक्रिया