ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा २२० करोडको लगानीमा खुल्दै पाँचतारे होटल

मङ्गलबार ०८, पुष २०८२ ०७:३८

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन, लगानी र आतिथ्य क्षेत्रलाई उचाइमा पुर्‍याउने परियोजनाका रूपमा धनगढीमा पाँचतारे होटल खुल्ने भएको छ । व्यावसायिक घराना चौलानी ग्रुपको पहलमा क्लब चौलानी लिमिटेड र अन्तर्राष्ट्रिय होटल सञ्जाल इन्टरकन्टिनेन्टल होटल समूह अन्तर्गतको होलिडे इन एन्ड रिसोर्ट्सबीच होटल व्यवस्थापनसम्बन्धी औपचारिक सम्झौता भएको हो ।

उक्त सम्झौता काठमाडौंको बुढानिलकण्ठस्थित होलिडे इन एन्ड रिसोर्ट्समा आयोजित कार्यक्रममा सम्पन्न भएको हो । सम्झौतामा क्लब चौलानी लिमिटेडतर्फबाट अध्यक्ष डा. राजेन्द्र केसी र होलिडे इन एन्ड रिसोर्ट्सका दक्षिण एसियाका प्रबन्ध निर्देशक शसुदीप जैनले हस्ताक्षर गरे ।


सम्झौता कार्यक्रममा चौलानी ग्रुपका सञ्चालकद्वय मानसिंह साउद र तिलक साउदको उपस्थिति रहेको थियो । उनीहरूले सुदूरपश्चिमको दीर्घकालीन आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर यो परियोजना अघि बढाइएको बताए । यो पहलले धनगढीलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन तथा व्यवसायिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ ।

सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा होटल समूहका संचालक दीपक पाण्डेले सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै परियोजनाले सुदूरपश्चिममा गुणस्तरीय आवास र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवाको नयाँ युग सुरु गर्ने बताए । सोही अवसरमा परियोजनासँग सम्बन्धित प्रारम्भिक सार्वजनिक सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि गरिमा क्यापिटललाई आधिकारिक प्रबन्धकका रूपमा नियुक्त गरिएको जानकारी पनि सार्वजनिक गरिएको छ ।

धनगढीमा निर्माण हुन लागेको होलिडे इन धनगढी सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल हुनेछ । होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ वटा प्रिमियम सुइटसहित ११५ वटा अत्याधुनिक अतिथि कक्ष रहनेछन् ।

होटलका प्रमुख सुविधाहरूमा करिब १८ हजार ५ सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७ सय जनासम्म अट्ने  सभाहल, रुफटप स्विमिङ पुल, बहु–परिकार भोजनालय, पूर्ण रूपमा सुसज्जित आधुनिक व्यायाम केन्द्र, बैठक तथा सम्मेलन कक्षहरू र विशेष निजी भोजन कक्ष समावेश रहनेछन् ।

परियोजनाको कुल लगानी २२० करोड रुपैयाँ रहेको छ । यसमध्ये करिब ६५ प्रतिशत अर्थात् १४३ करोड रुपैयाँ बैंक ऋणमार्फत र ३५ प्रतिशत अर्थात् ७७ करोड रुपैयाँ प्रवर्द्धकहरूको स्व–पूँजीमार्फत लगानी व्यवस्थापन गरिनेछ ।

होटल २०८४ सालको सुरुआतदेखि सञ्चालनमा आउने बताइएको छ । 

प्रतिक्रिया