धनगढी । १९औं संस्करणको सुदूरपश्चिम महोत्सव आज सकिएको छ । २२ मंसिरदेखि सुरु भएको महोत्सव यसपटक १४ दिनसम्म चल्यो । यो अवधिमा सुदूरपश्चिमको कला, संस्कृति प्रवद्र्धनका कयौं गतिविधि भए । यहाँको व्यापार, व्यवसाय उत्थानका पनि थुप्रै प्रयास भए । अनि यसपटक महोत्सवको आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघले एउटा नयाँ अभ्यास पनि ग¥यो । सुदूरपश्चिमको सम्भावनालाई उजागर गर्न र समस्या समाधान गर्नका लागि एउटा थलो पनि बनाइयो, सुदूरपश्चिम महोत्सव । महोत्सवस्थलमै भिजन सुदूरपश्चिमको नामले आयोजना गरिएको एउटा फरक शैलीको कार्यक्रम ।
हुन् त स्थापनाकालदेखि नै सुदूरपश्चिम महोत्सवमार्फत यहाँका बासिन्दाले विकास मागिरहेका छन् । जति माग, त्यत्तिनै किलोको माला लगाएर शालीन आन्दोलनको सुरुवात पनि गरिएको थियो ०६३ सालमा सुदूरपश्चिम महोत्सवमार्फत । त्यसबेला दोस्रो जनआन्दोलन सम्पन्न भइसकेको थियो । तर, देश अझै राजनीतिक संक्रमणको तापबाट भने मुक्त भइसकेको थिएन । स्थायी शान्ति र समृद्धिको आकांक्षा सडकदेखि सदनसम्म गुञ्जिरहेकै बेला सुदूरपश्चिमले भने मौन तर गहिरो सन्देश बोकेको अर्को शालीन आन्दोलन सुरु ग¥यो । त्यो थियो, ‘सुदूरपश्चिमको विकास र पहिचान’ को आन्दोलन ।
छाउपडी, देउकी, गरिबी र अभावका कथामै सीमित गरेर चिनाइदै आएको सुदूरपश्चिम ०६३ सालतिर पनि त्यही पहिचानको भारीले थिचिएको थियो । सम्भावना र अवसरभन्दा पनि केवल पछौटेपनको प्रतीक बनाइएको सुदूरपश्चिमको भूगोललाई नयाँ आँखाले हेर्न बाध्य पार्ने एउटा माध्यमको खोजी हुँदै थियो । त्यही खोजी यात्राले ‘सुदूरपश्चिम महोत्सव’ जन्मायो ।
यहाँको नागरिक समाज, उद्योग व्यवसायी र अभियन्ताहरुको साझा निष्कर्ष र संकल्पमा सांस्कृतिक अभियानमार्फत सुदूरपश्चिमका सम्भावना उजागर गर्ने र नीति निर्मातामाथि विकासका लागि दबाब सिर्जना गर्ने माध्यमका रुपमा सुदूरपश्चिम महोत्सवलाई प्रयोग गर्ने विकल्प रोजियो । फलस्वरुप ०६३ सालदेखि सुरु भयो, सुदूरपश्चिम महोत्सव ।
त्यसबेला कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष रहेका (हाल धनगढी उपमहानगर प्रमुख) गोपाल हमालको नेतृत्वमा संघले महोत्सव आयोजना गरेको थियो । संस्कृतिदेखि राजनीति, उत्पादनदेखि बजारसम्म–सबैको संगम एउटै थलोका लागि महोत्सव कोषेढुंगा सावित भयो । पछिल्ला वर्षहरुमा जहाँत्यही महोत्सव आयोजना गर्ने प्रचलन त्यस बेला थिएन ।
सुदूरपश्चिम महोत्सवको आत्मा स्पष्ट थियो, संगीतमा मात्र सीमित नहुने, नीति निर्माण तहसम्म सुदूरपश्चिमको आवाज पु¥याउने । त्यसैको प्रतीकस्वरुप २१ बुँदे मागपत्र र २१ किलोको माला महोत्सवको राजनीतिक सन्देश बनाइयो ।
सुरुको वर्ष ०६३ सालमा धनगढीमा आयोजित महोत्सवमा राजनीतिमा प्रभावशाली, प्रधानन्त्रीसमेत भइसकेका अनि सुदूरपश्चिमकै प्रतिनिधि शेरबहादुर देउबालाई निम्त्याएर सुदूरपश्चिमको आर्थिक, पूर्वाधार, औद्योगिक विकास, पर्यटन, लगानीमैत्री वातावरण लगायत सम्बन्धित २१ वटा मागसहित २१ किलोको माला लगाइयो । २१ बुँदे मागहरुको प्रतिविम्वका रुपमा २१ किलोको माला लगाइएपछि पूर्व प्रधानमन्त्री देउवाले भनेका थिए, ‘म सुदूरपश्चिमको छोरा हुँ, पश्चिम सेती जलविद्युत आयोजना एक बनाउँछु, दुई बनाउँछु, तीन बनाउँछु ।’
त्यसपछि २१ किलोकै माला त्यस बेलाका सभामुख सुवास नेम्वाङलाई लगाएर २१ बुँदे माग दोहो¥याइयो । नेम्वाङले पनि भने ‘म २१ किलोको मालासहित मागपत्र लगरे काठमाडौं जान्छु । माग पूरा गराउनका लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने छु ।’ त्यसपछि तत्कालीन प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरि २१ किलोको माला लगाएर आयोजकले २१ वटा माग राखेपछि उनले भने ‘यो दशक सुदूरपश्चिमको विकासको दशक हुनेछ । अहिलेको परिवर्तन ल्याउन सुदूरपश्चिमको ठूलो योगदान छ । यस क्षेत्रबाट जनयुद्धमा धेरैले सहादत प्राप्त गरेका छन्, केन्द्रिकृत राज्यले हेपेको क्षेत्र भएकाले सुदूरपश्चिमलाई अव न्याय हुन्छ ।’
यसरी देउवा, नेम्वाङ, प्रचण्ड मात्रै होइन, शासकीय नेतृत्वको शीर्ष तहमा रहेका प्रमुख पदाधिकारीहरुलाई आयोजक कैलाली उद्योग बाणिज्य संघले मागहरु दोहो¥यो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व राष्ट्रपति रामवरण यादव, भीम रावल, नारदमुनी राना, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतलाई उनीहरु पदमा रहेका बेला मुख्य अतिथिका रुपमा निम्त्याएर आफ्ना मागहरु सुनाएको छ । यस वर्ष अर्थ मन्त्री रामेश्वर खनाललाई मुख्य अतिथि बनाएर सुदूरपश्चिमको विकासका सवालहरु राखिएको छ ।
तर १९औं श्रृखलासम्म पुग्दा आयोजकहरुले छ वटा मागहरु मात्र पुरा भएको जनाएको छ । पुरा भएका मागहरुमध्ये अप्टिकरल फाइबर जडान, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, सेती अस्पतालमा आइसियू कक्षको निर्माण, सभा गृह निर्माण र दुग्ध प्रशोधन केन्द्र स्थापनाको माग मात्रै पूर्ण रुपमा पूरा भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले बताए । अन्य ६ वटा माग कार्यान्वयनको चरणमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, दोधारा–चा“दनी सुख्खा बन्दरगाह, पर्यटन केन्द्र स्थापना, धनगढी विमानस्थल स्तरोन्नति र चिसापनी–गड्डाचौकी व्यापार व्यवस्थित गर्ने कार्य अहिले कार्यान्वयनको चरणमा प्रवेश गरेका तर सुस्त रहेका संघको भनाई छ ।
नौ वटा माग भने सम्बोधन भएका छैनन् । प्रदर्शनी स्थलको निर्माण, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार, त्रिनगर–गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउनु पर्ने, चीनस“ग जोड्ने नाका स्थापना, विशेष औद्योगिक क्षेत्र, १० वर्षसम्म ट्याक्स फ्रि जोन घोषणा, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण, कृषि विश्वविद्यालयको स्थापना र सांस्कृतिक संग्रहालयको माग भने सुनुवाई नभएको संघको भनाई छ । गेटा मेडिकल कलेज र फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणको माग पनि पछि थपिएका थिए । जो अझै अधुरै छन् । ‘हरेक वर्ष एउटा माग मात्रै पूरा गरिदिएको भए पनि अहिलेसम्म १८ वटा माग पूरा भएका हुन्थे, तर हालसम्म पा“च वटा मात्र पूर्ण रुपमा सम्बोधन भएका छन्,’ अध्यक्ष ओझाले भने ‘छ वटा मागहरु प्रक्रियामा गएका छन् भने नौ वटा मागहरुमा प्रक्रियासमेत सुरु गरिएको छैन ।’
१९औं श्रृखलाको समारोहमा महोत्सव सुरु गर्दाका अध्यक्ष गोपाल हमालले महोत्सव सुदूरपश्चिमको विकासका लागि थालिएको शालीन आन्दोलन भएको स्मरण गराए । उनले सुदूरपश्चिमको कला संस्कृतिलाई एकाकार गर्न, राज्यको ध्यानाकर्षण गराउन, नीति निर्माण तहका उच्च पदस्थहरुसमक्ष सुदूरपश्चिमको गुनासोको पोका खोल्ने थलोको रुपमा महोत्सवको यात्रा अविराम रहेको बताए । ‘मेडिकल कलेज सञ्चालन सुदूरपश्चिममा अहिलेको मुख्य ऐजेण्डा हो,’ अहिलेको सरकारले जसरी पनि पुरा गरोस्,’ हमालले भने ‘सुदूरपश्चिममा गेमचेन्जर आयोजना पुरा भएका छैनन् । गेमचेन्जर सडकका सपना अधुरा छन् । महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया दीपायल फास्टट्रयाक निर्माण प्राथमिकतामा पर्नु प¥यो । यी मागहरु पुरा नभएसम्म सुदूरपश्चिमले सधै झकझक्याई रहनेछ ।’
उत्पादन बिक्रिको थलो
सुदूरपश्चिम महोत्सव उत्पादक र बिक्रेताहरुका लागि प्रतिक्षाको थलो बनिसकेको छ । आयोजकहरुका अनुसार हरेक वर्ष करिब १० लाखले महोत्सवको अवलोकन गर्दछन् । महोत्सवस्थल धेरैका लागि किनमेलको थलो बन्ने गरेको छ । ‘सुदूरपश्चिम महोत्सवमा करिब १५ करोडको कारोबार हुने गरेको आकडा छ,’ अध्यक्ष ओझाले भने ।
महोत्सवस्थलमा राखिएका स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, खाना–पान, विभिन्न स्टलहरुलगायत मनोरञ्जनात्मक कार्यक्रमले उपभोक्तालाई आकर्षित गर्ने गरेको छ । दार्चुलाका नरबीरसिंह धामीले स्थानीय अल्लोबाट उत्पादित कपडाहरुको स्टल राखेका छन् । ‘मैले दार्चुलाका उत्पादनहरु महोत्सवमा ल्याउन थालेको चार वर्ष भयो,’ धामीले भने ‘बिक्रि र कमाई राम्रै छ ।’ बझाङबाट मनबीर रावलले स्थानीय दालहरुको ल्याएका छन् । उनी पनि महोत्सवमा हुने ब्यापारले हौसिएको बताउ“छन् । कैलालीको धनगढी गाउ“की मनमती चौधरी थारु परिकारहरु बिक्रिको स्टल राखेकि छिन् ।
महोत्सवमा पाँच सय ५० वटा स्टल राखिएको संघका बरिष्ट उपाध्यक्ष केशवराज जोशीले बताए । ‘कृषि तथा उद्योग प्रदर्शनी, घरेलु तथा कृषि उत्पादनका लागि ५० स्टलहरु निःशुल्क गरेका थियौं,’ जोशीले भने ‘स्थानीय परिकार र जाति विशेषको परिकारको लागि पनि निःशुल्क व्यवस्था गरेका छौँ । यस पटकको महोत्सव स्थानीय उत्पादनका स्टललाई अझ महत्व दिएका छौं ।’ नौ वटै जिल्लाका स्थानीय उत्पादनको बिक्री प्रवद्र्धनको थलो पनि सुदूरपश्चिम महोत्सव भएको उनले बताए ।
महोत्सवको व्यवस्थापन गुनासोरहित भने छैन । अझै परिस्कृत गर्नु पर्ने खाँचो रहेको औल्याउनेहरु पनि छन् । यस क्षेत्रमा स्वरोजगरको प्रमुख क्षेत्र नै कृषि भएपनि कृषकहरुका लागि ठाउँ खुम्चिदै गएको कतिपयको गुनासो सुनिन्छ । ‘कृषिमा आकर्षण बढाउन महोत्सवलाई उपयोगी थलोका रुपमा विकास गर्नु जरुरी छ,’ कैलारीका किसान रेबन्त बोहराले भने ।
सांस्कृतिक प्रवद्र्धनको संगम
सुदूरपश्चिम महोत्सव यस्तो सांगितिक त्रिबेणीका रुपमा स्थापित भएको छ कि स्थानीय कला संस्कृति प्रवद्र्धनको त सेतु नै भएको छ । अनि नाम चलेका कलाकारको पहिलो रोजाई पनि । यसपाली महोत्सवको सांगितिक माहोलमा अर्को रौनक पनि थपियो । गायक प्रमोद खरेल आफ्नो ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ महोत्सवमा हजारौं दर्शकमाझ झुल्किए । महोत्सवमा ब्याण्डसहितको प्रस्तुति पहिलोपटक हो ।
मञ्चमा प्रवेश गरेको केही मिनेटमै मैदान तताए । जोशिला गीतले दर्शकहरुलाई नाच्न बाध्य बनाए । स्टेजमा प्रमोदले प्रस्तुत गरेका अन्य कतिपय गीतसंगीका भावहरुमा दर्शकहरु संगै बगेका पनि देखिए । प्रमोद मात्रै होइन, सुदूरपश्चिमकी ख्यातीप्राप्त डेउडा गायिका डिक्रादेवी बादी हुन् या कर्णालीकी इब्सल सञ्ज्याल या काठमाडौंबाट आएका अन्य कलाकारहरु दुर्गेश थापा, पल शाह, रचना रिमाल, समीक्षा अधिकारी, प्रकाश सपुत, शान्तीश्री परियार, चक्र बमलगायत दर्जनौ कलाकारहरुका सांगितिक प्रस्तुतीले सुदूरपश्चिम महोत्सव गुञ्जिरह्यो । ‘एक सय बढी स्थानीय कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका छन्,’ संघका सचिव प्रकाश चन्दले भने ‘काठमाण्डौंका इच्छुक कलाकारहरुको आग्रह त थेगिनसक्नु हुन्छ ।’

थारु गाउँको आकर्षण
सुदूरपश्चिम महोत्सवमा अर्को आकर्षणको केन्द्र हो थारु गाउँ प्रदर्शनी । महोत्सवस्थल भित्रै बेग्लै स्थानमा थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका लागि थारु गाउँ प्रदर्शनी स्थल राखिएको छ । महोत्सवमा जाने जो कोहीले पनि त्यो ठाउँ सायदै छुटाउँछन् ।
त्यहाँ थारु समुदायका खानपान, भेषभुषा र कला संस्कृति देख्न पाइन्छ । थारु समूदायमा प्रचलित परिकारहरु घोगी, ढिक्री, माछा, बंगुरको मासुलगायतका परिकारको स्वाद लिन पाइन्छ त्यहाँ । अनि लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको अवलोकनका लागि पनि थारु गाउँ प्रदर्शनीस्थलमा परम्परागत पहिरनमा सजिएका थारु समूदायका युवतीहरुको पोषाकहरु लेहेङ्गा, चोलिया, धोतीेलगायतका पहिरनले धेरैलाई आकर्षित गर्छ ।
प्रतिक्रिया