ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा संघका लेखा अधिकृतलाई प्रदेशका कार्यालयमा दोहोरो जिम्मेवारी, विरोधमा कर्मचारी

आइतबार ०६, पुष २०८२ ०२:०८

धनगढी । सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले लेखा समूहका संघ सरकार अन्तर्गतका कर्मचारीहरुलाई आफ्नो मातहतको कार्यालयमा दोहोरो जिम्मेवारीमा खटाएको छ । आफ्नै मातहतका कतिपय कर्मचारीहरुमाथि भने पूर्वाग्रह राखिएको लेखा समूहका कर्मचारीहरुले बताएका छन् । 

आर्थिक मामिला मन्त्रालयले लेखा समूहका कार्मचारीको पद रिक्त रहेका प्रदेश मातहतका कतिपय कार्यालयमा संघ सरकारअन्तर्गतका कार्यालयमा कार्यरत लेखा अधिकृतहरुलाई थप जिम्मेवारी तोकेको हो । मन्त्रालयले हालै २८ जनालाई थप जिम्मेवारीमा खटाएको छ । तीमध्ये पाँच जना संघीय कार्यालयमा कार्यरत संघीय लेखा समूहका कर्मचारीलाई प्रदेश मातहतका कार्यालयहरुमा थप जिम्मेवारीमा खटाइएको हो ।

अर्कोतिर लेखा समूहबाट दोहोरो जिम्मेवारीमा खटाउनुपर्ने कर्मचारीको व्यवस्थापन तथा खाता सञ्चालन अधिकार प्रदान गर्ने क्षेत्राधिकार रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयको अधिकारमाथि समेत मन्त्रालयले हस्तक्षेप गरेको लेखा अधिकृतहरुले दावी गरेका छन् । प्रदेश लेखा नियन्त्रक बाशुदेव जोशीले रिक्त रहेका पदमा समेत मन्त्रालयले नै खटनपटन गराएको बताए । 

आर्थिक मामिला मन्त्रालयले आफू अनुकुल हुने गरी प्रदेशका २८ वटा कार्यालयमा २८ जना लेखा समूहका कर्मचारीलाई दोहोरो जिम्मेवारी  तोकेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनविपरीत मन्त्रालयले लेखा नियन्त्रक कार्यालय र लेखा इकाइ कार्यालयको क्षेत्राधिकार मिचिएको लेखा अधिकृत बलदेव कापडीले बताए । प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत कापडीले मन्त्रालयले गरेको निर्णयको विरोधमा लेखा अधिकृतहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी भएको उनले बताए । 
‘लेखा समूहका कर्मचारीलाई थप जिम्मेवारी तोक्ने क्षेत्राधिकार लेखा कार्यालयहरुले हो,’ उनले भने, ‘तर, प्रदेश सचिवले नै थप जिम्मेवारी तोकिदिनु भएको छ । एक ठाउँमा थप जिम्मेवारी लिएर काम गरिरहेका साथीलाई निकालेर अर्कोलाई राखिदिनु भएको छ । यसले लेखा इकाइको क्षेत्राधिकार मिचिनुका साथै लेखा समूहका कर्मचारीको मनोवल गिराउने काम भएको छ ।’ 

बझाङको मालपोत कार्यालयमा कार्यरत लेखापाल शिवराज पाण्डेयलाई डिभिजन वन कार्यालयमा, बझाङकै जिल्ला प्रशासन कार्यालयमा कार्यरत लेखापाल भीमराज जोशीलाई सामाजिक विकास कार्यालयमा र बझाङकै जिल्ला कारागारमा कार्यरत लेखापाल मानबहादुर बमलाई घरेलु तथा साना उद्योग कार्यालयमा थप जिम्मेवारी दिई खटाइएको छ ।

यसैगरी, बैतडीको जिल्ला अदालतमा कार्यरत विष्णुप्रसाद जोशीलाई कृषि ज्ञान केन्द्रमा र अछामको मेरो नयाँ शहर आयोजना कार्यालय साँफेबगरमा कार्यरत लेखापाल टेकबहादुर सिजापतिलाई बयलपाटा अस्पतालमा थप जिम्मेवारी दिई खटाइएको छ । 

यता आर्थिक मामिला मन्त्रालयका प्रवक्ता अर्जुन खड्काले प्रदेशमा कर्मचारीको अभाव भएका कारण संघ सरकारका कर्मचारीलाई पनि प्रदेशका कार्यालयमा दोहोरो जिम्मेवारी दिइएको बताए । ‘दरबन्दीअनुसार प्रदेशमा लेखा समूहका कर्मचारी छैनन,’ उनले भने, ‘पायक पर्ने क्षेत्रमा संघका कर्मचारीलाई जिम्मेवारी दिएका छौं । यो मन्त्रालयको अधिकारभित्रै पर्छ ।’
 

प्रतिक्रिया