ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमलाई त्रिदेशीय व्यापारिक केन्द्र बनाउन सक्ने यी आयोजना, निर्माण सुस्त

आइतबार ३०, कार्तिक २०८२ ११:०५

धनगढी । तत्कालीन महाकाली अञ्चलका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्ने आयोजना हो, महाकाली करिडोर । भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको ब्रह्मदेवदेखि चिनसंग जोडिएको दार्चुलाको टिङ्करसम्म ४१३ किलोमिटर लम्बाईको महाकाली करिडोर निर्माण गर्ने योजना सरकारको छ । महाकाली नदी किनारैकिनरा हुँदै तिङ्करनाकासम्म यातायातको पहुँच विस्तारसंगै त्रिदेशीय व्यापारको ढोका खोल्ने र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने आयोजनाको रुपमा हेरिएको छ, महाकाली करिडोरलाई । 

आर्थिक वर्ष २०६५/६६ देखि नै सुरु भएको थियो, महाकाली करिडोर निर्माण कार्य । तर, १७ वर्षसम्म पनि सडकको ट्याक खोल्ने काम पनि सकिएको छैन । महाकाली करिडोर आयोजनाका सूचना अधिकारी रामचन्द्र जैशीका अनुसार आयोजनाको दुई खण्डमा निर्माण भइरहेको छ । ‘कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्मको ३३४ किलोमिटर निर्माणको जिम्मा आयोजना कार्यालयको छ,’ सूचना अधिकारी जैशीले भने, ‘तुसारपानीदेखि तिंकरसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा भने नेपाल सरकारले ०७७ वैशाखदेखि नेपाली सेनालाई दिएको छ ।’

आयोजनाले हेर्दै आएको ३३४ किलोमिटरमध्ये महाकाली राजमार्गसंग ओभरल्याप भएकोसमेत जोडेर २८४ किलोमिटर सडक ट्याक खोल्ने काम सकिएको छ । ‘ट्याक खोलिएको मध्ये झण्डै पाँच किलोमिटर कालोपत्रे भएको छ,’ उनले भने, ‘५० किलोमिटर सडक ट्याक खोल्न बाँकी छ ।’ सबैभन्दा बढी डडेल्धुरामा २७, दार्चुलामा १७ र बैतडीमा ६ किलोमिटर ट्याक खोल्न बाँकी रहेको छ । १८ अर्ब लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म तीन अर्ब ६८ करोड खर्च भइसकेको छ । 

सूचना अधिकारी जैशीले सडक निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा २२ करोड ९७ लाख बजेट विनियोजन गरेको जानकारी दिए । ‘१३ वटा ठेक चालु अवस्थामा छन्, एक अर्ब ३९ करोड त ठेक्का दायित्व छ,’ जैशीले भने । आयोजना कार्यालयका अनुसार बजेटको अभाव र भौगोलिक विकटता करिडोर निर्माणमा सबैभन्दा चुनौतीका रुपमा छ । बिस्फोटक पदार्थ आवश्यकताअनुसार नपाउँदा पनि समस्या भइरहेको निर्माण कम्पनीहरुले बताउने गरेका छन् । रुख कटानमा हुने प्रक्रियागत उल्झनले पनि आयोजना निर्माणमा समस्या भइरहेको बताइएको छ । 

दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिंह थापा महाकाली करिडोर निर्माण भए सुदूरपश्चिमलाई त्रिदेशीय व्यापारको केन्द्र बनाउन सकिने बताउँछन् । ‘करिडोरले चीन र भारतसँग व्यापारको ढोका खोल्ने छ,’ उनले भने, ‘करिडोरको निर्माण सकिएर तिंकर नाका नियमित रुपमा सञ्चालन गर्न पाए हामीलाई निकै राहत हुने थियो ।’ अध्यक्ष थापाले सुदूरपश्चिमको आर्थिक समृद्धिसंग जोडिएको आयोजना भए पनि निर्माणमा सरकारले प्राथमिकता नदिएको बताए । 

‘अर्बाै लागत भएको योजना निर्माण गर्न १०–२० करोड मात्रै बजेट विनियोजन हुन्छ,’ उनले भने, ‘यहीँ गतिमा निर्माण भए त अझै दशकौं लाग्ने देखिन्छ ।’ व्यापारिक दृष्टिकोणले मात्रै नभएर धार्मिक पर्यटनका लागि पनि महाकाली करिडोर कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । महाकाली कोरिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनीजस्ता प्रसिद्ध धार्मिकस्थल छन् । करिडोरको निर्माण सम्पन्न भए ती धार्मिकस्थलमा पर्यटनको आवागमन बढ्ने अपेक्षा गरिएको छ । 

०००
महाकाली करिडोरसंगै सुरु भएको आयोजना हो, सेती राजमार्ग । जसले तत्कालीन सेती अञ्चलका पाँच जिल्ला जोड्छ । कैलालीको टीकापुरदेखि डोटी, अछाम, बाजुरा हुँदै बझाङको ताक्लाकोटसम्मको ३५९ किलोमिटर लम्बाइको सडक आयोजना हो, सेती राजमार्ग । आर्थिक वर्ष २०६६÷०६७ सालदेखि सुरु भएको आयोजना एक दशकसम्म सडक डिभिजन कार्यालयमार्फत निर्माण भयो । आर्थिक वर्ष २०७४÷०७५ देखि भने दुई छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेर काम अघि बढाइएको छ । कैलाली, डोटी, अछाम र बाजुरामा पर्ने सडक निर्माणको जिम्मेवारी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङमा पर्ने सडक निर्माणको जिम्मा सेती राजमार्ग (उत्तर खण्ड)को छ । 

निर्माण सुरु भएको १६ वर्षमा २१२ किलोमिटरमा मात्रै ट्याक खोलिएको छ । दक्षिणी खण्डको जिम्मेवारीमा रहेको २०४ किलोमिटरमध्ये १३६ किलोमिटरमा ट्याक खोल्ने काम सकिएको सेती राजमार्ग (दक्षिण खण्ड) का सूचना अधिकारी केशवदत्त मिश्रले जानकारी दिए । ‘डोटीमा रुख कटानमा ढिलाई हुँदा र बाजुरामा खप्तड राष्ट्रिय निकुञ्जका कारण काम ढिलो भएको हो,’ सूचना अधिकारी मिश्रले भने । 

सेती राजमार्ग (उत्तर खण्ड) को १५५ किलोमिटरमध्ये ७६ किलोमिटरमा टयाक खोल्ने काम सकिएको छ । योजना प्रमुख बिरेन्द्रकुमार यादवका अनुसार बझाङको चैनपुरदेखि ताक्लाकोटसम्म ट्याक खोल्न बाँकी छ । भौगोलिक रुपमा निकै विकट क्षेत्र भएकाले उक्त क्षेत्रमा काम हुन नसकेको यादवले बताए । राजमार्गको निर्माण सम्पन्न भए यसले दक्षिणको भारतदेखि उत्तरको चिनलाई जोड्ने छ । राष्ट्रिय योजना आयोगमा सुदूरपश्चिमले पहिलोपटक सदस्य पाउँदा २०६६ सालमा यो राजमार्गको काम सुरु गरिएको थियो । 

‘सेती राजमार्ग सुदूरपश्चिमको समृद्धिसंग जोडिएको आयोजना हो,’ सुदूरपश्चिमबाट पहिलोपटक योजना आयोगमा सदस्य बनेका डा. प्रेम कुँवर भन्छन्, ‘सेती लोकमार्ग र महाकाली करिडोर निर्माण भए सुदूरपश्चिमको अवस्था फेरिन्छ । तर, ती योजनाको निर्माण डेढ दशकदेखि कछुवा गतिमा भइरहेको छ ।’ सेती राजमार्गकै वरिपरि कयौं धार्मिकस्थल पनि रहेकोले धार्मिक पर्यटन प्रवद्र्धनका लागि पनि उक्त राजमार्ग निर्माण आवश्यक छ । उक्त राजमार्गलाई कैलाश मानसरोवार जोड्ने सबैभन्दा छोटो स्थलमार्गका रुपमा पनि हेरिएको छ । 

०००
डेढ दशकदेखि चर्चामा छ, धनगढी–दीपायल सडक । कहिले द्रुतमार्ग त कहिले सुरुङमार्गका रुपमा उक्त सडक निर्माण गर्ने सरकारी योजना बन्यो । तर, सडक निर्माणले पूर्णता कहिले पाउने ? टुंगो छैन । ०६५ सालमा धनगढीका केही युवाहरुले विभिन्न संस्थाहरुको सहयोगमा कैलालीको खुटियादेखि डोटीको दीपायल जोड्ने सडकको सर्भे गरेका थिए ।

धनगढी–डडेल्धुरा–डोटी सडकभन्दा आधा छोटो हुने देखिएपछि द्रुत मार्गको रुपमा अगाडि बढाउने योजना बनाइएको थियो । निजी क्षेत्रबाट उक्त सडक निर्माण गर्न सम्भव नभएपछि नेपाल सरकारले नै आर्थिक वर्ष २०६६÷०६७ सालको बजेटमा उक्त योजनालाई समावेस गरेको थियो । त्यसपछि अधिकांश बजेटमा उक्त योजनाले स्थान पायो । तर कामले भने कहिल्यै पनि गति लिन सकेन ।

अहिले उक्त सडकलाई चिनसंगको नाकासम्म पुगाउने सरकारी योजना छ । सडक योजनाको नाम पनि फेरिएर धनगढी–दीपायल–चैनपुर–उरै सडक आयोजना बनाइएको छ । यो सडक बझाङको थलारामा सेती लोकमार्गमा जोडिनेछ । निर्माणाधीन सेती लोकमार्गले थलारा हुँदै उरै भन्ज्याङ जोड्नेछ । उरै भन्ज्याङ चीनको तिब्बत जोड्ने नाका हो । तर, यो सडक आयोजनामा बजेट अभाव हुँदा निर्माण सुस्त छ । 

प्रतिक्रिया