ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा खाद्यले धान खरिद नगर्दा चिन्तामा किसान

शुक्रबार २८, कार्तिक २०८२ ०१:०७

धनगढी । कैलालीको गोदावरी नगरपालिका– ८ श्रीपुरका जनकलाल चौधरी धान बिक्री गर्न सोमबारदेखि धनगढीस्थित खाद्यको खरिद केन्द्रमा धाइरहेका छन् । तर, उनले शुक्रबारसम्म पनि धान बिक्री गर्न सकेका छैनन् । ‘सोमबारदेखि धनगढीको मोहनपुरस्थित खाद्यको खरिद केन्द्रमा गइरहेको छु,’ जनकलालले भने, ‘खाद्यका कर्मचारीले भोलि आउनु भन्दै फर्काइरहे । आज त्यहाँ पुग्दा कोटा सकिएको र अब खरिद गर्न नसकिने भन्दै फिर्ता पठाइएको छ ।’ 

जनकलालसंगै थिए, धनगढी उपमहानगरपालिका– ११ घोडसुवाका किसान राधेश्याम राना । डल्लबमा धान राखेर मोहनपुर खरिद केन्द्रमा पुगेका रानालाई पनि खाद्यले फिर्ता पठाइदिएको छ । ‘केन्द्रबाट निर्धारित कोटा बराबर धान खरिद भइसकेको र कोटा नबढ्दासम्म धान खरिद गर्न नसक्ने जानकारी दिइएको छ,’ रानाले भने । 

खाद्यले धान खरिद बन्द गरेपछि धान बिक्री नै नहुने चिन्ता बढेको बताउँछन्, धनगढी उपमहानगरपालिका–१३ का किसान शालिग्राम राना । ‘व्यापारीले खरिद गरे पनि निकै कम मूल्य दिन्छन्,’ रानाले भने, ‘त्यही पनि व्यापारीले पनि धान खरिद नगर्ने धम्की दिइरहेका छन् । खाद्यले ढिलो गरी खरिद सुरु गरेको थियो । १० दिनमै खरिद बन्द गरिदियो । हामीलाई धान नै बिक्री नहुने चिन्ता छ । 

कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १२ कात्तिकदेखि धान खरिद सुरु गरेको थियो । खाद्यको प्रादेशिक कार्यालयले तत्काल थप धान खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै किसानलाई बिक्रीका लागि नआउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । तर, खाद्यका खरिद केन्द्रमा किसानको दैनिक भीड लाग्ने गरेको छ । प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर केन्द्रबाट पठाइएको थियो । ‘३१ हजार ४४८ क्विन्टल धान खरिद भइसकेको छ,’ थापाले भने, ‘बाँकी साढे चार हजार क्विन्टल धान खरिद गर्नका लागि कुपन वितरण भइसकेको छ । कुपन पाउन बाँकी किसानको धान खरिद गर्न सक्ने अवस्था छैन ।’

धानको कोटा बढाउनका लागि केन्द्रलाई अनुरोध गरिएको थापाले बताए । कार्यालय प्रमुख थापाले कैलालीका छ ठाउँबाट धान खरिद गरिएको जानकारी दिए । टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर केन्द्रबाट धान खरिद गरिएको हो । ‘नेपाल सरकारले यसवर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ तोकेको छ,’ थापाले भने, ‘सोही मूल्यमा धान खरिद गरेका छौं ।’ गल्ला व्यापारीले भने समर्थन मूल्यभन्दा एक हजार कममा धान खरिद गर्ने गरेका छन् । 

प्रतिक्रिया