ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कर्मचारी र व्यापारीको सेटिङ, सस्तोमै धान बेच्न बाध्य छन् किसान

मङ्गलबार १८, कार्तिक २०८२ १०:५३

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गतवर्ष धान खरिदका लागि कैलालीमा ५५ हजार क्विन्टलको कोटा निर्धारण ग¥यो । तर, ३४ हजार क्विन्टल मात्रै धान खरिद भयो । उता कञ्चनपुरमा गतवर्ष १५ हजार क्विन्टल कोटा निर्धारण गरिएको थियो । तर, लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भयो । खाद्यले स्थानीय गल्ला व्यापारीभन्दा झण्डै एक हजार रुपैयाँ बढी रकम प्रतिक्विन्टल दिँदै आएको छ । तर, किसानहरु भने खाद्यलाई धान बेचिरहेका छैनन् अथवा बेच्न दिइएको छैन । 

गतवर्ष कोटाअनुसार धान खरिद नभएपछि यसवर्ष कैलालीमा ३५ हजार र कञ्चनपुरमा पाँच हजार मात्रै कोटा निर्धारण गरिएको छ । कैलालीमा यसवर्ष १२ कात्तिकदेखि खाद्यले छ वटा खरिद केन्द्रमार्फत धान खरिद सुरु गरेको छ । एक साताको अवधिमा चार हजार चार सय ३९ क्विन्टल अर्थात् लक्ष्यको १२ प्रतिशत मात्रै धान खरिद भएको छ । 

नेपाल सरकारले यसवर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ तोकेको छ । खाद्यले सोही मूल्यमा धान खरिद गर्दै आएको छ । तर, किसानहरु भने अहिले पनि दुई हजार छ सय रुपैयाँ प्रतिक्विन्ट अर्थात् खाद्यभन्दा साढे आठ सय कममा गल्ला व्यापारीलाई धान बिक्री गर्दै आएका छन् । 

खाद्यले खरिद सुरु गर्दा पनि व्यापारीलाई सस्तोमा धान बेच्नुका पछाडि विभिन्न कारण छन् । त्यसमध्ये एउटा कारण खाद्यमा धान बिक्रीका लागि बनाइएको झन्झटिलो प्रक्रिया पनि हो । खाद्यले धान बिक्री गर्न आउँदा किसानबाट वडा कार्यालयको सिफारिस माग्दै आएको छ । धान बिक्रीको रकम पनि किसानले केही समयपछि मात्रै पाउने गरेका छन् । ‘खाद्यमा धान बिक्री गर्न निकै झन्झटिलो प्रक्रिया छ,’ कञ्चनपुुरका किसान रोशन चौधरीले भने, ‘खाद्यले सफा र सेकेको धान मात्रै खरिद गर्ने गरेको छ । लामो दूरी पार गरी खाद्यको खरिद केन्द्रसम्म धान पुगाइन्छ, तर कर्मचारीले धान सफा नभएको भन्दै फिर्ता पठाइदिन्छन् । त्योभन्दा सहज व्यापारीलाई बेच्न हुन्छ । कम रकम दिए पनि व्यापारीले जस्तो पनि धान खरिद गर्छन् ।’

खाद्यका कर्मचारी र व्यापारीबीचको सेटिङले पनि खाद्यसम्म धान खरिदका लागि किसान कमै पुग्ने गरेका छन् । कञ्चनपुरकै एक गल्ला व्यापारीका अनुसार किसानहरुलाई धान बेच्नका लागि खाद्यसम्म पुग्नै दिइएको छैन । ‘किसानलाई खाद्यसम्म पुग्न नदिएर उल्टै व्यापारीले खाद्यलाई धान बेच्ने गरेका छन्,’ कञ्चनपुरका ती गल्ला व्यापारीले नै भने, ‘व्यापारीहरुले किसानको नाममा फर्जी कागजात बनाएर खाद्यलाई पनि धान बेच्दै आएका छन् ।’ खाद्यले एक किसानबाट बढीमा ५० क्विन्टल धान खरिद गर्ने भनेको छ । ‘तर एकै व्यापारीले ययौं किसानको फर्जी कागजात बनाएर सयौं क्विन्टल धान बिक्री गरेको पनि देखेका छौं,’ ती व्यापारीले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापा भने सेटिङमा धान खरिदको आरोपमा कुनै सत्यता नभएको बताउँछन् । ‘हामीले को किसान हो र को होइन भन्ने थाहा पाउँदैनौं,’ उनले भने, ‘वास्तविक किसानकै धान खरिदका लागि वडाको सिफारिस माग्ने गरेका छौं । वडाबाटै कुनै कैफियत भए भन्न सकिन्न ।’

कैलालीका अगुवा किसान नेत्र भण्डारीका अनुसार खाद्यसम्म किसान धान बिक्रीका लागि नपुग्नुमा एउटा अर्को कारण पनि छ । ‘खासमा असोज–कात्तिकमा भित्र्याइने धान अधिकांश किसानले पाँच–छ महिनाअघि नै वैशाख, जेठमै बेचिसकेका हुन्छन्,’ भण्डारीले भने, ‘किसानले गल्ला व्यापारीलाई धान दिने भनेर वैशाख–जेठमै पैशा लिइसकेका हुन्छन् । अहिले त धान दिने मात्रै हुन् ।’ खाद्यले ढिलो गरी धान खरिद सुरु गर्ने गरेका कारण पनि किसानहरु खाद्यसम्म पुग्न नसकेको उनी बताउँछन् । ‘खाद्यले धान किन्ने–नकिन्ने अन्योल हुन्छ,’ उनले भने, ‘खाद्यले धान खरिद सुरु गर्दासम्म किसानहरुले बिक्री गरिसकेका हुन्छन् ।’

प्रतिक्रिया