ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका किसानले गहुँको बीउकै भुक्तानी पाएनन्, कम्पनी र सहकारीबाट ठगिएको गुनासो

आइतबार १६, कार्तिक २०८२ ११:३०

धनगढी । धान बिक्री भइरहेका बेला कैलालीका बीउ उत्पादक किसानले गहुँकै मूल्य भुक्तानी पाएका छैनन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादाका बीउ उत्पादक किसानले गहुँको बीउ खरिद गरेको एक निजी कम्पनीले आफूहरुलाई भुक्तानी नदिएको गुनासो गरेको हुन् । कृषि ज्ञान केन्द्र कैलाली र शिखर व्यवसायिक कृषि सहकारी संस्थाको समन्वयमा किसानले २५४.५० क्विन्टल गहुँको बीउ उत्पादन गरी अपिहिमाल एग्रो एण्ड लाइभष्टक कम्पनी प्रालिलाई बिक्री गरेका थिए । 

सहकारीका अध्यक्ष सन्तराम चौधरीका अनुसार चार हजार ९४५ रुपैयाँ प्रतिक्विन्टलका दरले कम्पनीले गाउँबाटै गहुँको बीउ उठाएको थियो । बीउ गहुँको कुल मूल्य १२ लाख १३ हजार ९९७ रुपैयाँमध्ये तीन लाख ९५ हजार ७१९ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष चौधरीले बताए । उनले कम्पनीलाई भुक्तानी दिन पटकपटक ताकेता गर्दा पनि हालसम्म भुक्तानी नदिएको बताए । उनले भुक्तानीका लागि किसानहरु कम्पनी र सहकारीमा पटकपटक पुग्ने गरेको बताए । उनका अनुसार कम्पनीले सहकारीलाई भुक्तानी दिने र सहकारीले किसानलाई भुक्तानी दिने गरी सम्झौता गरिएको थियो ।

बैशाखमा गहुँको बजार मूल्य चार हजार आठ सय रुपैयाँ रहेको बेला कम्पनीले १५ प्रतिशत थपेर दिने सम्झौता सहकारीसंग गरेपछि आफूहरुले सहकारीमार्फत् सो कम्पनीलाई बीउ गहुँ दिएको स्थानीय सुकराम चौधरीले बताए । तर, छ महिनासम्म भुक्तानी नपाउँदा आफूलाई खेती गर्न अफ्ठेरो भएको उनले गुनासो गरे ।

‘केही मूल्य बढी पाउने आशमा बीउ उत्पादनमा लागेको थिए,’ उनले भने, ‘पटकपटक भुक्तानीमा ठगिएपछि बीउ उत्पादनको कामले हामी किसानलाई फाइदा हुन सकेको छैन । यसअघि धानको बीउ उत्पादन गर्दा सुख्खडको उग्रतारा बीउ कम्पनीले २० बोरा धानको मूल्य नै दिएन ।’

अपिहिमाल एग्रो एण्ड लाइभष्टक कम्पनी प्रालिका लोकेश भट्टले पनि किसानहरुको ८–१० प्रतिशत बीउ गहुँको भुक्तानी दिन बाँकी रहेको बताए । उनले कम्पनीको खाता बन्द भएको कारणले दिन नसकेको बताउँदै अब खाता खुला गर्ने सम्पूर्ण व्यवस्थापन भइसकेको हुँदा किसानहरुको बाँकी भुक्तानी दिइने बताए ।

प्रतिक्रिया