 
                                                                                    धनगढी । २३ भदौमा नवयुवा पुस्ता (जेनजी) ले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र सामाजिक सञ्जालमाथिको बन्देज खोल्न माग गर्दै घोषणा गरेको आन्दोलन जब मध्यान्ह्रतिर उक्लिदै थियो, तब काठमाडौंमा गोली चल्यो । किशोर उमेर समूहका विद्यार्थीहरु मारिए । देशैभर प्रदर्शन भड्कियो । लगायतका खबरहरु निमेसभरमै भुसको आगोसरि फैलिए
२३ गतेका ती घटनाक्रमले देशैभर धेरैको मनमा सन्नाटा छाइरहेको थियो । विद्यार्थीहरुमाथि गोली बर्साएर मारिएको घटनाले धेरैको मनमा आवेग र उत्तेजना पनि फैलिदै थियो । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी अछुतो रहने कुरै भएन । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा निमित्त सचिव समेत रहेका उपसचिव आमोद दाहालले मनमनैको सन्नाटाका बीच पनि त्यस दिन साँझसम्मै नियमित कामकाज गरे । तर, दोस्रो दिन पक्कै पनि केही थप अनिष्ट हुनसक्ने अनुमान उनले लगाइसकेका थिए ।
२४ गते विहानै मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सुरक्षा समितिको बैठक बोलाउन भने । आन्तरिक मामिला तथा कानुनमन्त्री अध्यक्ष रहने भएकाले बैठकको प्रबन्ध र पत्राचार उनैले गर्नु पथ्र्यो । त्यसैमा सेनालाई मौखिक भनेर मात्र नहुने, पत्राचार नभएसम्म सेनाका प्रतिनिधि बैठकमा उपस्थित नहुने परम्परा थियो । हतारमा दाहालले पत्र तयार गरे । प्रचलनअनुसार नै नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरुलाई बैठकमा आमन्त्रितका रुपमा निम्त्याइयो । साढे ८ बजेतिर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक चल्यो ।
बैठक सकेर साढे ९ बजेतिर बाहिर निस्कदा सडकभरि प्रदर्शनकारी आइसकेका थिए । बैठकका कतिपय सहभागीहरु पछाडिको गेटबाट निस्किए । उपसचिव दाहाल पनि त्यसै गरि हतारमा मन्त्रालय पुगे । मन्त्रालयमा पुगेर उनले कर्मचारीहरुको बैठक गरे । सम्भावित जोखिमको आंकलन गर्दै उनले मन्त्रालयका कागजातहरु जसरी पनि जोगाउन लाग्नु पर्नेमा ध्यान दिए ।
सबै फाँटका काजगजातहरु दराजमा लक गरेर राखियो । सवारी साधनलगायत सम्भव भएसम्म अलगअलग स्थानमा राख्ने, मन्त्रालयमा रहेको ग्यास सिलिण्डर खोलेर राख्ने चाजोपाँजो मिलाए । छोटो अवधिमा आन्तरिक तयारीको प्रयास उनले गरे, गराए ।
मध्यान्ह्रतिर प्रदेश प्रमुखको कार्यालयमा आगजनी र तोडफोड भएको खबर प्राप्त भयो । त्यसपछि मन्त्रालयका कर्मचारीहरुले पनि अब आफ्नो मन्त्रालय अछुतो नरहने यकिने गर्दै सबै कर्मचारी आत्तिए । त्यसपछि उपसचिव दाहालले सबै कर्मचारीलाई जोखिम लिएर अनिवार्य मन्त्रालयमा बस्न भन्न नसक्ने तर आफू मन्त्रालयमै बस्ने जानकारी गराए । सहकर्मीहरुलाई उनले भनेका थिए, ‘मेले, हामीले कुनै गल्ती गरेका छैनौं, न त कुनै भ्रष्टाचार नै गरेका छौं । त्यसैले त विनम्र हुँदै हात जोडेर भए सकेसम्म मन्त्रालयमा हुन सक्ने क्षति रोक्ने कोसिस गर्छु ।’ उपसचिव दाहाल, कार्यालय सहयोगी उमेश जोशी र चालक डम्मर थापाले पनि मन्त्रालय नछाड्ने विचार गरे ।
केही समयपछि मन्त्रालयको उत्तरतिर पार्कको सडकतिरबाट मन्त्रालय भवनमा ढुंगा प्रहार हुन थाले । केहीपछि त प्रदर्शनकारीहरुको ठुलो समूह गेटमै आइपुग्यो । त्यसपछि दाहाल पनि कार्यकक्षबाट बाहिर निस्किए । प्रदर्शनकारीहरुले गेट तोडफोड गरे । प्रहरीले हात खडा ग¥यो, प्रदर्शकारीहरुको हुल उत्तेजित हुँदै मन्त्रालयको हातभित्र प्रवेश ग¥यो ।
प्रदर्शनकारीहरु अधिकांश २० देखि ३० वर्ष उमेर समूहकै थिए । त्यसपछि उपसचिव हात जोड्दै प्रदर्शनकारीहरुकै भीडमा पुगे । उनी दुई हात जोड्दै ‘नागरिककै सम्पत्ति भएको र जनताकै करबाट बनेको सम्पत्ति नष्ट नगर्न आग्रह गर्न थाले ।’ तर सबै प्रदर्शकारी एकै स्वभावका थिएनन् । दुई जना प्रदर्शनकारीहरुले उत्तेजित हुँदै दाहाललाई गाली गलौज गरे, लाठी प्रहार गर्ने कोसिस पनि गरे । तर, उनले हात जोडेर क्षति नगर्न अनुरोध गरिरहे । त्यस क्रममा एक–दुई जनाले त लाठी नै टाउकोमा बर्साउन खोजेका थिए । तर, प्रदर्शनकारीहरुले नै बचाएका थिए ।
जब प्रदर्शनकारीहरुले मन्त्रालयमा राखिएको राष्ट्रिय झण्डासमेत उखेल्न खोजेपछि दाहाल आवेगमै आएर रोक्न खोजेका थिए । दुई पटकसम्म रोके पनि । तर, तेस्रो पटक भने प्रदर्शनकारीहरुले झण्डा उखेली छाडे ।
प्रदर्शकारीहरु भवनमा ढुंगा प्रहार गर्दै भित्र प्रवेश गरे । भुई तलामा लेखालगायत धेरैजसो महत्वपूर्ण फाँटहरु थिए । तर, कार्यालय सहयोगी जोशी र चालक थापाले आगजनी गर्नबाट जोगाए । उनीहरुले प्रदर्शनकारीहरुलाई हात जोड्दै अनुनय गरेर फर्काए । त्यसपछि प्रदर्शनकारीहरु पहिलो तलामा उक्लिए । त्यहाँ तोडफोड गरे । तर, दराज लक गरेर राखिएकाले कागजातहरु क्षति हुन भने पाएनन् । मन्त्रीको कार्यकक्ष माथिल्लो तलामा थियो । प्रर्दशनकारीहरुले मन्त्रीको कार्यकक्षमा भने आगजनी गरेको दाहालले त्यति बेला मात्र थाहा पाए, जब धुँवाको मुस्लो आउन थाल्यो । रोक्ने प्रयास गर्नै पाएनन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् हेर्ने मन्त्रालय पनि भएकाले मन्त्रालयको अगाडिपट्टि सञ्चार उपकरणसहित महत्वपूर्ण राहत तथा उद्दार सामग्रीहरु राखिएको गोदाम छ । प्रर्दशनकारीहरुले त्यस भवनलाई पनि निसाना बनाउने कोसिस गर्न थाले । त्यसपछि भने दाहालले निकै जुक्ति निकालेर एक दुई जना प्रदर्शनकारी अगुवाहरुलाई कन्भिन्स गर्दै यहा“ विपदसम्वद्ध सामग्री भएकाले नष्ट भए, प्रदेश र आम नागरिकका लागि निकै दुर्भाग्य हुने भन्दै सम्झाए । दाहालको अनुरोध एक जना अगुवाले सुने र त्यहाँ कुनै तोडफोड र आगजनी गरेनन् ।
मन्त्रालयमा अर्को महत्वपूर्ण उपकरण प्रेस थियो । जहाँ प्रदेशका राजपत्र लगायत महत्पूर्ण दस्तावेजहरु छापिन्छन् । एउटा समूह प्रेस रहेको भवनतिर गयो, अर्को समूह निवासतिर गयो, केहीले सवारी साधनहरु खोज्दै आगजनी गर्न थाले । तर, दाहालका लागि भने अरुभन्दा पनि प्रेस जोगाउने प्राथमिकता भयो । उनी हत्तपत्त प्रेस भएको भवनतिर लागे । त्यतिञ्जेल आगो झोसिसकेका थिए । तर, तत्काल दाहाल लगायतका कर्मचारीहरु निभाएर मेसिनमा आगो लाग्न दिएनन् ।
अहिले दाहाललाई एकातिर मन्त्रालयका कागजात मात्र भए पनि नष्ट हुनबाट जोगाएकोमा गौरब महसुस छ । अर्कोतिर नागरिक समाजका १० जना उपस्थित भएर प्रदर्शनकारीहरुलाई नगर्न अनुरोध गर्ने अवस्था भएको भए क्षतिलाई शून्यमा झार्न सकिने थियो भन्ने चुकचुकी लागिरहन्छ । जे होस्, उपसचिव दाहालको हिम्मतले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कुनै पनि कागजात क्षति हुन पाएन । त्योभन्दा महत्वपूर्ण कुरा त राज्यका सम्पत्तिको जगेर्ना गर्न एक जना सिनियर कर्मचारीले जोखिम मोलेर निर्वाह गरेको भूमिका सबैका लागि शिक्षाप्रद छ ।
प्रतिक्रिया