ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा भोलिदेखि खाद्यले धान खरिद गर्दै, यी हुन् खरिद केन्द्र

मङ्गलबार ११, कार्तिक २०८२ ०५:०८

धनगढी । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कैलालीका छ ठाउँबाट धान खरिद गर्ने भएको हो । 

कार्यालय प्रमुख दीपक थापाका अनुसार धान खरिदका लागि केन्द्रबाट परिपत्र आइसहेको छ । ‘आज मात्रै केन्द्रबाट कोटा निर्धारण भएर धान खरिदका लागि परिपत्र आएको छ,’ कार्यालय प्रमुख थापाले भने, ‘आजै जिल्ला प्रशासनमा बैठक गरेर बुधबारदेखि खरिद सुरु गर्ने निर्णय भएको छ ।’

कार्यालय प्रमुख थापाका अनुसार पहिलो चरणमा भन्दै कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर केन्द्रबाट पठाइएको छ । ‘प्रारम्भिक रुपमा ३५ हजार क्विन्टलको कोटा तोकिएको छ, यो कोटा बढ्ने देखिन्छ,’ थापाले भने । गतवर्ष धान खरिदका लागि कैलालीमा ५५ हजार क्विन्टलको कोटा निर्धारण गरिएको थियो । खाद्यले खरिद सुरु गर्नुअघि नै किसानले धान बिक्री गरिसकेको हुँदा ३४ हजार क्विन्टल मात्रै खरिद गरिएको थियो । 

कार्यालय प्रमुख थापाले कैलालीका छ ठाउँबाट धान खरिद भइरहेको जानकारी दिए । टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर केन्द्रबाट धान खरिद भइरहेको कार्यालय प्रमुख थापाले बताए । ‘नेपाल सरकारले यसवर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ तोकेको छ,’ थापाले भने, ‘सोही मूल्यमा धान खरिद सुरु गरेका छौं ।’एक किसानबाट बढीमा ५० क्विन्टल मात्रै धान खरिद गर्ने र धानको मूल्य बैंक खतामार्फत भुक्तानी गरिने खाद्यले जनाएको छ । 

खाद्यले ढिलो गरी धान खरिद सुरु गर्दा कैलालीका किसानले सस्तोमा गल्ला व्यापारीलाई धान बिक्री गरिरहेका थिए । समर्थन मूल्यभन्दा एक हजार कममा उनीहरु धान बेच्न बाध्य थिए । किसानहरुले समर्थन मूल्य पाउनुपर्ने माग राखेपछि प्रशासनमा छलफल पनि भएको थियो । तर, गल्ला व्यापारीले समर्थन मूल्य दिन नसक्ने बताउँदै धान नै खरिद नगर्ने चेतावनी दिएका थिए । उनीहरु समर्थन मूल्यमा धान खरिद गर्नुभन्दा भारतबाट चामल ल्याएर बिक्री गर्ने बताएका थिए ।

प्रतिक्रिया