धनगढी । कैलाली जिल्लामै सबैभन्दा बढी बेरुजु गरेको गोदावरी नगरपालिकाले एकै आर्थिक वर्षमा ७६ लाख ९५ हजार ७८७ रुपैयाँ इन्धनमा खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ सम्म ५४ करोड ३७ लाख ८० हजार ६१५ रुपैयाँ बेरुजु गरेको गोदावरीले सो वर्ष इन्धन लगायत कार्यालय सञ्चालनका नाममा गरेको खर्चको प्रभावकारिता सुनिश्चित नभएको बताइएको छ । आर्थिक वर्ष २०७९÷०८० सो नगरपालिकाले इन्धनमा ८६ लाख ४५ हजार २२३ रुपैयाँ खर्च गरेको थियो ।
यसैगरी, २०८०/८१ मा नगरसभा सञ्चालन खर्च १४ लाख २४ हजार २५५ रुपैयाँ, मसलन्द तथा कार्यालय सामाग्रीमा एक करोड ७० हजार ५५२ रुपैयाँ, सवारी साधन मर्मत खर्च चार लाख ९५ हजार १४० रुपैयाँ, घरभाडा १६ लाख ८२ हजार २०० रुपैयाँ, विविध खर्च ३३ लाख ९७ हजार २१० रुपैयाँ र आर्थिक सहायतामा १५ लाख ३४ हजार ५०० रुपैयाँ खर्च गरेको छ ।
अघिल्लो वर्ष नगरसभा सञ्चालन खर्च १२ लाख ७४ हजार ७६५ रुपैयाँ, मसलन्द तथा कार्यालय सामाग्री खर्च एक करोड ४५ लाख ४४ हजार ४४० रुपैयाँ, सवारी साधन मर्मत खर्च ४५ लाख ५४ हजार ३७४ रुपैयाँ, घरभाडा ३३ लाख ६८ हजार ६९० रुपैयाँ, विविध खर्च २६ लाख ७० हजार ११४ रुपैयाँ र आर्थिक सहायता १२ लाख ७१ हजार ५०० रुपैयाँ थियो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ४१ अनुसार खर्चहरुको प्रभावकारिता सुनिश्चित नै नगरी गोदावरीले खर्च लेखेको माहालेखा परीक्षकले पतिवेदनमा उल्लेख गरेको छ । गोदावरीले तलबी प्रतिवेदनसमेत पारित नगरी कर्मचारीलाई तलब भत्ता वितरण गरेको छ । २०८०/८१ मा २५ करोड ३९ लाख ३० हजार ७३४ रुपैयाँ तलबी प्रतिवेदन नै पारित नगरी तलब भत्ता भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
करार सेवाका पदहरुको व्यवस्थापन सर्वेक्षण नै नगरी १५२ जनालाई करारमा नियुक्त गरी सात करोड ६८ लाख ७० हजार ३०९ रुपैयाँ तलब भत्ता दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७२ को दफा ८३ मा नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बर लगायतका पदमा मात्र प्रतिस्पर्धाका आधारमा करार सेवा लिन सकिने व्यवस्था उलंघन गरी गोदावरीले कार्यालय सहयोगी, स्वास्थ्यकर्मी लगायतका कर्मचारी करारमा भर्ना गरेको छ ।
गोदावरीले खर्चको आधार प्रमाण तथा बिल भरपाइ बेगर विभिन्न फर्म र व्यक्तिहरुलाई १८ लाख १४ हजार १६ रुपैयाँ भुक्तानी दिएको छ । महालेखाले सो खर्चको नगरपालिकालाई खर्चको पुष्टि हुने प्रमाण पेस गर्न भनेको छ ।
सेवा प्रदायकले निःशुल्क मर्मत गर्ने इन्टरनेट मर्मत शुल्क भुक्तानी
गोदावरी नगरपालिकाले इन्टरनेट मर्मतकै नाममा वार्षिक ५९ हजार २४५ रुपैयाँ खर्च गरेको छ । जबकी इन्टरनेट सेवा प्रदायक कम्पनीले दूरसञ्चार नियमावली २०५४ नियम १५ को खण्ड १ (ज) बमोजिम निःशुल्क मर्मत सम्भार गर्ने गरेका छन् । सो रकम नगरपालिकाले असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
यसैगरी, विद्युत तथा खानेपानी महसुल भुक्तानी र सवारी साधन शुल्क तथा बिमा नविकरण समयमा नगरी विना कारण ढिलो गरी दुई लाख १९ हजार ९२३ रुपैयाँ जरिवना तिरेको छ । महालेखाले सययमा महसुल भुक्तानी र सवारी साधन शुल्क भुक्तानी गरी छुट लिन सुझाएको छ ।
प्रतिक्रिया