धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उत्पादक क्षेत्रभन्दा अनुत्पादन क्षेत्रमा बढी बजेट विनियोजन गरेको फेला परेको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहकै निर्वाचन क्षेत्रमा पनि अनुत्पादन क्षेत्रमा बढी बजेट विनियोजन गरिएको हो । उनको निर्वाचन क्षेत्र कैलाली २ (१) मा एउटै मन्दिर निर्माणका लागि डेढ करोड रुपैयाँ विनियोजन हुँदा प्रदेशको औद्योगिक क्षेत्रमा गेम चेन्जर मानिएको डुडेझारी औद्योगिक क्षेत्र निर्माणका लागि ५० लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटक विकास कार्यक्रम कार्यान्वयन इकाई (पर्यटन इकाई)ले कार्यान्वयन गर्ने गरी लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित कैलाशधामको मन्दिर निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । लम्कीचुहाकै वडा नम्बर २ मा थारु मरुवा निर्माण गर्न पनि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
लम्कीचुहा वडा नम्बर ३ स्थित मुक्त कमैया सामुदायिक वनमा पर्ने डुडेझारीमा औद्योगिक क्षेत्र निर्माण गर्न अर्बौ रकम लाग्ने भए पनि उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले कार्यान्वयन गर्ने गरी ५० लाख मात्रै विनियोजन गरिएको छ । मन्दिर र मरुवा निर्माणबाट आर्थिक आर्जन नभई धार्मिक तथा सांस्कृतिक संरक्षण मात्रै हुने भए पनि औद्योगिक क्षेत्र निर्माणमा आर्थिक क्रियाकलाप बृद्धि भई प्रत्यक्ष आर्थिक आर्जन हुन्छ । तर, आयोजना निर्माणलाई कम प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले वार्षिक कार्यक्रम तथा योजना कार्यान्वयनमा समेत ध्यान दिएको देखिन्न । तीन महिनादेखि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैसंग राखेका मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयर मातहतका कार्यालयबाट कार्यान्वयन हुने वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि नै स्वीकृत गरेका छैनन् ।
मन्त्रालय स्रोतका अनुसार सो कार्यविधि तयार भइसकेको छ । मन्त्रीस्तरीय निर्णयबाट सो कार्यविधि स्वीकृत भएपछि मात्रै वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन हुने गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय तथा ति मन्त्रायहरुको मातहतका कार्यालयहरुले योजना तथा कार्यक्रम कार्यान्वयन सुरु गरिसकेका छन् ।
प्रतिक्रिया