धनगढी । ठेक्का लगाइएको तीन वर्षमै सम्पन्न हुनुपर्ने हुलाकी सडक आयोजना अन्तरगतका पाँच वटा पुल वर्षौदेखि अलपत्र पारिएको छ । हुलाकी सडक आयोजना कार्यालय धनगढीले २०७८ मा ठेक्का लगाएको दुई, २०७९ मा ठेक्का लगाएको एक र २०८० मा ठेक्का लगाएको दुई पुल बजेट अभावमा अलपत्र परेका हुन् ।
कैलालीको धनगढीमा दुई वटा पुल २०७८ फागुन १९ गते आठ करोड २३ लाख ७३ हजारमा मालिका निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको थियो । अढाई वर्ष (३० महिना) मा निर्माण सम्पन्न हुने गरी ठेक्का दिइएको भए पनि दुबै पुल निर्माणको काम तोकिएको म्यादमा दुई वर्ष थप भए पनि ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
धनगढीको वडा नं. १ र २ लाई जोड्ने खोला र वडा नं. १ र ८ लाई जोड्ने खोलामा २५/२५ मिटर लम्बाईको पुल निर्माण २०८० असार १९ गतेभित्रै सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । सुरुमा निर्माण सेवाले ढिलाई गरेको र पछिल्ला वर्षहरुमा न्यून बजेट विनियोजनले गर्दा ती पुल निर्माण सुस्त भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।
चार/पाँच वर्षदेखि पुल निर्माण भइरहेको भए पनि निर्माण सम्पन्न नहुँदा देखेर वाक्क भइसकेको स्थानीयले बताए । धनगढी–८ का राममिलन चौधरीले हरेक वर्ष निर्माण गर्न ठेकेदार लेबर लिएर आउने गरेको र केही दिन काम गरेर फर्किने गरेको बताए । राधास्वामी नजिक निर्माण भइरहेको पुल छेउमै घर भएका उनले पुलको अधुरो पाइल देखाउँदै भने, ‘चार वर्षमा बनेको यत्ति हो । माथि उठेको सरियासम्म पिलर बनाउने भनेका छन् । चार वर्षमा आधा मात्रै पिलर हालिएको छ । यो वर्ष पंखामा प्वाल र चिन्ह देखिएको भन्दा माथि उठाउने काम मात्रै भयो ।’
यसैगरी, धनगढीको दुई पुल निर्माणमा ढिलाई गरेको मालिका निर्माण सेवाले नै कञ्चनपुरको बेलौरी–दैजी खण्डमा पर्ने टिसिएन खोलामा आरसिसि बक्स कल्भर्ट बनाउने ठेक्का लिएको थियो । टिसिएन खोलामा आरसिसि बक्स कल्भर्ट निर्माणका लागि तीन करोड १२ लाख ६९ हजार रुपैयाँमा २०८० बैशाख १७ गते ठेक्का लगाइएकोमा ९० प्रतिशत मात्रै काम भएको छ । यो ठेक्काको सुरुको म्याद २०८१ असार १ गते सकिएको थियो । थप गरिएको म्याद पनि सकिएको छ ।
कञ्चनपुरकै अम्खोइया खोलामा पनि आरसिसि बक्स कल्भर्ट निर्माणका लागि २०८० साउन १ गते निरज भौनेली श्रीयाज जेभीलाई ठेक्का दिइकोमा ७० प्रतिशत मात्रै काम भएको छ । यो ठेक्काको सुरु म्याद २०८७१ असोज ३० गते सकिएको छ । तीन करोड २७ लाख ७६ हजार रुपैयाँमा लगाइएको ठेक्काको थप म्याद पनि सकिएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने डोदा नदीमा पुल बनाउन २०७९ असार ५ गते ३३ करोड ५५ लाख ३३ हजार रुपैयाँमा लगाइएको ठेक्काको काम पनि निकै सुस्त छ । सो पुलको डिजाइन र निर्माण गर्ने ठेक्का लिएको शान्ति निर्माण सेवा प्रालिले तीन वर्षमा दुई पुलको पिलर हाल्ने काम मात्रै गरेको छ । सो पुलको पनि ३० प्रतिशत मात्रै काम भएको आयोजना कार्यालयले जनाएको छ । यो ठेक्काका लागि थप गरिएको म्याद पनि असारमा सकिएको छ ।
आयोजना कार्यालय धनगढीका इञ्जिनियर रमेश पन्तले निर्माण कम्पनीहरुले समयमा काम नगर्दा पुल र सडक निर्माणको कार्य प्रभावित भएको बताए । पछिल्लो दुई वर्ष यता आयोजनामा बजेट अभावको समस्या आएकोले पुल निर्माण कार्य सुस्त भएको उनले बताए ।
प्रतिक्रिया