ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डीएसपी भन्दै कुटेर मारिए दार्चुलाका उत्तम, पुत्र बियोगको पीडाले मुर्छा पर्छिन् निर्मला

मङ्गलबार ३१, भदौ २०८२ ११:३७

धनगढी । ‘यो डीएसपी हो’ भन्दै निर्घात रुपमा एक व्यक्तिमाथि कुटपिट भइरहेको भिडियोमा सामाजिक सञ्जालमा भाइरल छ । ‘तेरो सेकेन्डम्यान खै’ भन्दै रक्ताम्य बनाएर उनीमाथि कुटपिट भइरहेको छ । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट कुटिएका ती व्यक्ति डीएसपी भने थिएनन् । उनी थिए, प्रहरी जवान उत्तम थापा । 

दार्चुलाको लेकम गाउँपालिका– ३ का थापा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए । २४ भदौमा भएको जेनजी आन्दोलनमा निर्घात कुटपिट भएपछि उनी मारिएका छन् । थापाको मृत्युले उनको परिवार साहाराविहीन बनेको छ । नौ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थापाले झण्डै आठ वर्षअघि बुवा हरिसिंह गुमाएका थिए ।

भाई महेशको पनि नौ महिनाअघि लालीमै भीरबाट लडेर मृत्यु भएपछि उनी आफ्नो परिवारको एक्लो साहारा थिए । ‘दैव पनि कति निष्ठुरी हुने रैछन्,’ भाई महेशको मृत्युपछि उत्तमले नौ महिनाअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘लाउलाउ र खाउखाउ भन्ने उमेरमै लगिस् । जति लेखे पनि मेरो भाई आउने होइन ।’

नौ महिनाअघि महेश र अहिले उनका दाई उत्तमको मृत्युले सिंगो लाली क्षेत्र र दार्चुला जिल्ला नै शोकमा डुबेको मृतक प्रहरी जवान थापाका काका सुरेशसिंह थापाले बताए । ‘अब परिवारमा ५७ वर्षीया उत्तमकी आमा निर्मला र श्रीमती पुष्पा छिन्,’ लेकम गाउँपालिका वडा नम्बर ३ का अध्यक्षसमेत रहेका सुरेशसिंहले भने, ‘श्रीमान गुमाएको पीडा भुल्न नपाउँदै नौ महिनाको अवधिमा दुई छोराको मृत्यु भएपछि उत्तमकी आमाको अवस्था ठिक छैन । बेहोस छिन् ।’

थापाको अन्त्येष्टि पशुपति घाटमा गरेपछि अहिले उनका काका रुपसिंह थापा कञ्चनपुरको महेन्द्रनगरमा किरिया बसेका छन् । उनकी श्रीमती पुष्पा पनि त्यतै छिन् । आमा निर्मला भने लालीमै छिन् । पुत्र बियोगको पीडा भुलाउन आफन्तले सम्झाउने प्रयास गरिरहेका छन् । तर, त्यो सम्भवन भइरहेको छैन । 

उत्तममाथि आक्रमण भएकै दिन २४ भदौमा उनले सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो राखेका छन् । ‘अब घर आउन चार दिन बाँकी छ,’ आफ्नो र श्रीमतीको फोटो राख्दै उनले लेखेका छन् । 
 

प्रतिक्रिया