धनगढी । सुदूरपश्चिमको पहाडी जिल्लाको लाईफलाईन महाकाली सडकको वैकल्पिक सडकको रुपमा रहेको चौकीडाँडा–ओलानी–बान्द्रेखाल–कोल्मुडा–फल्टुडे सडकको चौकीडाँडा–ओलानी खण्डमा दुई ठेकदारले गरेको बदमासी विरुद्ध वडा कार्यालयहरूले सडकमा आउने घोषणा गरेका छन् ।
चौकीडाँडा–ओलानी खण्डमा साढे ५.६ किलोमिटर सडक थेगिम कन्स्ट्रक्सन र तेडी निर्माण सेवाले छ वर्षदेखि कालोपत्रे गर्ने योजना अलपत्र पारेको विरोधमा सो सडकमा पर्ने वडा कार्यालयहरुले बिहिबारदेखि सडकमा आउने भएका छन् । उनीहरुले वडा नं. १० मा पर्ने चाक्लेखोला पुलमा गोदावरीको वडा नं. ३, १०, ११ र १२ को वडा कार्यालय स्थापना गरी विरोध गर्ने भएका छन् ।
वडा नं. १२ का वडाध्यक्ष भीमबहादुर खड्काले ६ वर्ष पहिले नै सम्झौता भएको सडक निर्माण गर्न पटक पटक ध्याननाकर्षण गराएपनि ठेकेदारले काम नगरेकोले सडक निर्माण गर्न दवाव दिनका निम्ति सडकबाट वडा कार्यालयको सेवा सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले सडकमा परेको खाल्डाखुल्डीले गर्दा सामान्य आवत जावतमा मात्रै नभई एम्बुलेन्स, ढुवानीका साधन आउन, वडाबासीहरुलाई रोजगारमा जान समेत कठिन भएको बताए ।
सो सडक खण्डमा पर्ने कृष्णमन्दिरदेखि वडा नं. १० को कार्यालयसम्म २.५ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का हातपार्न थेगिमले एड्भेन्चर कन्स्ट्रक्सन र सनलाईट कन्स्ट्रसनसंग जेभी गरी पूर्वाधार विकास कार्यालय कैलालीले २०७७ साउन २४ गते लागत अनुमान भन्दा झण्डै आधा रकममा ठेक्का कबोल गरेको थियो । नौ करोड ३९ लाख आठ हजार ३९५ रुपैयाँ लागत अनुमान भएको ठेक्का थेगिमले पाँच करोड ४८ लाख २५ हजार १३ रुपैयाँमा ठेक्का कबोल गरेको थियो । १८ महिनामा काम सक्ने गरी ठेक्का लिएको थेगिमले छ वर्षमा आधा पनि काम गरेको छैन ।
थेगिमको ठेक्का सकिने स्थानदेखि बांगेसालसम्मको ३.१ किलोमिटर सडक कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालयबाट २०७९ चैत १७ गते ठेक्का लिएको तेडीले पनि ठेक्का हातपार्न लागत अनुमान भन्दा झण्डै ४० प्रतिशत कममा ठेक्का कबोल गरेको थियो । आठ करोड ९९ लाख ९७ हजार ९६६ रुपैयाँ लागत भएको ठेक्का अडाई वर्षमा सक्ने गरी तेडीले छ करोड ६१ लाख ४१ हजार २०६ रुपैयाँमा ठेक्का लिएको थियो । ठेक्काको म्याद २०८१ साउन १७ गते सकिएपनि तेडीले साढे तीन वर्षसम्म आधा पनि काम गरेको छैन ।
पूर्वाधार विकास कार्यालय कैलालीले दुबै ठेक्कामा भौतिक प्रगति करिब ५०÷५० प्रतिशत भएको जनाएको छ । पूर्वाधार कार्यालयका ईञ्जिनियर सुर्यप्रकाश जोशीले दुबै ठेक्कामा ग्राभेल हाल्लेसम्मको काम मात्रै भएको बताए । उनले ठेकेदारलाई बारम्बार ताकेता गर्दा पनि सबबेसको ग्राभेल हाल्ने बाहेकको काम नभएको बताए । उनका अनुसार गतआर्थिक वर्षमा ४३ लाख रुपैयाँको मात्रै काम भएको थियो । थेगिमले दुई करोड ८३ लाख ६९ हजार ६१४ र तेडीले दुई करोड १८ लाख ३३ हजार ७६४ रुपैयाँ भुक्तानी लिइसकेको भएको पनि सडकलाई अलपत्र छोडेका छन् ।
यसैको विरोधमा गोदावरी नगरपालिकाका चार वडा कार्यालयहरुले आन्दोलन गर्ने भएका छन् । गोदावरी नगरपालिकाको वडा नं. ३, १०, ११ र १२ ले बिहीबारदेखि सडकमै वडा कार्यालय सञ्चालन गर्ने जनाएका छन् । यि चार वटै वडा कार्यालयका वडाध्यक्षहरुले बुधबार पत्रकार सम्मेलन आयोजना गरी ठेकेदारको लापरबाही विरुद्ध सडकबाट वडाबासीलाई सेवा दिने जनाए ।
थेगिम र तेडीले सम्झौतानुसार काम नगर्दा सडकमा खाल्डाखुल्डी भएको र आवतजावतमा कठिनाई उत्पन्न भएको वडाध्यक्ष खड्काले बताए । उनले चार वटै वडा कार्यालयहरुले संयुक्त रुपमा वडा नं. ११ मा पर्ने चाक्लेखोलामा वडा कार्यालय स्थापना गरी वडाबासीहरुलाई सेवा दिनुका साथै विरोध गरिने बताए ।
पटक पटक ठेकेदारलाई काम गर्न दवाव दिंदा काम गर्न आउने र केही दिनमै गायव हुने गरेको वडा नंं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले बताए । उनले ठेकेदारबाट सडक निर्माण गर्ने प्रतिवद्धता नआएसम्म आन्दोलन जारी रहने बताए । उनले सडक अप्ठेरो भएको कारण वडाबासीहरुले रोजगारी गर्न समेत कठीन भएको बताउँदै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे ।
चौकीडाँडादेखि बान्द्रे खालसम्मको सडकको लम्बाई १६ किलोमिटर छ भने यो सडकलाई फल्टुडेसम्म विस्तार गरी महाकाली हाइवेसंग जोड्ने योजना छ । प्रदेश सरकारले बांगेसालसम्मको सडक ठेक्का लगाए छ भने बांगेसालदेखि ओलानी, बान्द्रेखाल हुँदै कोलमुडासम्म सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का लगाएको छ । संघीय ठेक्काबाट भइरहेको कामबाट प्रगति भएपनि प्रदेशको ठेक्का अलपत्र परेको गोदावरी वडा नं. १२ का वडाध्यक्ष खड्काले बताए । उनले बांगेसालदेखि ओलानीसम्म कालो पत्रे भइसकेको बताउँदै छिट्टै कोल्मुडासम्म सडक कालोपत्रे हुने बताए । यो सडकको बान्द्रै खालबाट कोलमुडा हुँदै फल्टुडेसम्म ट्रयाक पहिले नै खुलिसकिएको छ ।
प्रतिक्रिया