धनगढी । गाउँमा प्रसुति केन्द्र नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यता थियो । घरमै सुत्केरी हुँदा महिलाको ज्यानसमेत जोखिममा हुन्थ्यो । सुरक्षित प्रसुति सेवाको अभावका कारण प्रसुतिका क्रममा महिला र शिशुको ज्यान जोखिममा परेका घटनाहरु दोहोरिने गरेका थिए । यो बाध्यता थियो, बैतडीको शिवनाथ गाउँपालिकामा ।
तर, अहिले भने घरमै सुत्केरी हुने बाध्यता हटेको छ । महिलाहरु सुरक्षित प्रसुति सेवा लिन प्रसुति केन्द्रमा जान थालेका छन् ।
गाउँपालिकाले गाउँघरमा प्रसुति केन्द्र भवन निर्माण गरेर सुरक्षित प्रसुति सेवा सुरु गरेपछि जोखिम मोलेर घरमै सुत्केरी हुने बाध्यता हटेको हो । सुदूरपश्चिमका दुर्गम ग्रामीण भेगमा अहिले पनि सुरक्षित प्रसुति सेवा उपलब्ध छैन । जसले गर्दा प्रसुतिका क्रममा महिला र शिशुले अकालमै ज्यान गुमाउनु पर्ने घटनाहरु बारम्बार हुने गरेका छन् ।
शिवनाथ गाउँपालिकाले भने ग्रामीण क्षेत्रमा सुरक्षित प्रसुति सेवा विस्तार गर्दै लगेको छ । शिवनाथ गाउँपालिकाले गाउँपालिकाभित्र विभिन्न ठाउँमा १३ वटा प्रसुति केन्द्रका भवन निर्माण गरेर सुरक्षित प्रसुति सेवा सञ्चालनमा ल्याएको हो । ती भवन निर्माणका लागि करिब एक करोड ६० लाख रुपैयाँ लागत अनुमान रहेकोमा एक करोड रुपैयाँ खर्च गरेर १३ वटा प्रसुति केन्द्र निर्माण गरिएका गाउँपालिकाले जनाएको छ ।
प्रसुति सेवा विस्तार भएपछि ग्रामीण क्षेत्रका महिलाहरु लाभाविन्त हुन थालेका छन् । गाउँपालिकाको तथ्यांक अनुसार विभिन्न वडामा निर्माण गरिएका १३ वटा प्रसुति केन्द्रबाट तीन सय ८० जना महिलाले सुरक्षित प्रसुति सेवा लिइसकेका छन् ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले गाउँमै सेवा दिएर मातृ तथा नवजात शिशु मृत्यु दर घटाउनका लागि गाउँपालिकाका ६ वटै वडाका १३ ठाउँमा प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले प्रसुति केन्द्र सञ्चालनमा आएपछि महिलाहरुलाई प्रसुतिमा सहज हुनुका साथै घरमै सुत्केरी गर्ने प्रवृति हटेको बताए ।
‘प्रसुति सेवा नपाएर आमा र शिशुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था थियो, प्रसुति केन्द्र सञ्चालनमा आएपछि अहिले त्यस्तो अवस्थामा कमी आएको छ’ अध्यक्ष साउँद भन्छन्, ‘प्रसुति केन्द्रमा सुत्केरी गराउन नसक्ने अवस्था आए अन्यत्र रेफर गर्छौँ ।’
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउद
उनले प्रसुतिका लागि निशुल्क एम्बुलेन्स सेवासमेत गाउँपालिकाले सञ्चालन गरिरहेको जानकारी दिए । स्वास्थ्य जटिलताका कारण प्रसुति केन्द्रमा सुत्केरी हुन नसक्नेलाई निशुल्क एम्बुलेन्समार्फत जिल्ला र जिल्लाबाहिरका अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको अध्यक्ष साउँदले बताए ।
प्रसुति केन्द्रहरुबाट सुरक्षित प्रसुति सेवासँगै अन्य सेवाहरु पनि उपलब्ध हुने गरेका छन् । खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, गाउँघर क्लिनिक सेवा उपलब्ध छन् । सुरक्षित प्रसुति सेवा भने चौबिसै घण्टा उपलब्ध रहने गरेको छ । यी सबै सेवाहरु निशुल्क रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया